सम्पादकीय

काठमाडौं भ्यू टावर निर्माणको सुरु



काठमाडौ, २६ फागुन ।  शिलान्यासको १६ महिनापछि बल्ल काठमाडौं भ्यू टावर निर्माणको काम सुरु भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले गत वर्षको कात्तिक २५ गते शिलान्यास गरेको काठमाडौं भ्यु टावरको निर्माण बल्ल सुरु भएको हो । काठमाडौंको नयाँ वसपार्कमा १२ तले भ्यू टावर निर्माणको काम अगाडि बढेको हो । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले डिप बोरिङका लागि अनुमति दिएसँगै भ्यु टावर निर्माणको काम अगाडि बढेको हो ।

बसपार्कमा रहेका पसल खालि गर्न, डिप बोरिङका लागि अनुमति लिन र विद्युतको लाइन लिन समय लागेका कारण निर्माणमा ढिलाइ भएको निर्माणको जिम्मा पाएको जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रालिका प्रबन्ध निर्देशक मनोज कुमार भेटवालले बताए । काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कस्थित आफ्नो स्वामित्वमा रहेको २३ रोपनी ५ आना जग्गामा भ्यू टावर बनाउने जिम्मा २५ महिना पहिले सम्झौता गरेर जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रालिलाई दिएको थियो ।

सम्झौता अनुसार बसपार्कमा भ्यू टावर बनाउन लाग्ने सबै खर्च जलेश्वर स्वच्छन्द प्रालिले व्यहोर्ने छ र त्यसवापत उसले ३० वर्षसम्म भ्यू टावरको भोगचलन गर्ने छ । सम्झौता २५ महिना पहिले तथा शिलान्यास १६ महिना पहिले भएपनि महानगरपालिकाले निर्माण सुरु गर्न कार्यदेश दिएको भने ६ महिना भएको छ । कार्यदेश दिएको तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले डिप बोरिङका लागि अनुमति दिएसँगै तथा विद्युत प्राधिकरणले विद्युतको लाइन उपलब्ध गराएसँगै कम्पनीले डिप बोरिङको काम सुरु गरेको छ । अबको तीन सातामा डिप बोरिङको काम सकिने र त्यसपछि जग खनेर भ्यु टावर निर्माणको काम अगाडि बढाउने जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रालिले जनाएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक भेटवालले अब कुनै कारणले पनि काम नरोकिने भन्दै सम्झौता अनुसार तीन वर्षभित्र निर्माण सक्ने दाबी गरे । उनले निर्माण कार्य अगाडि बढाउनका लागि लगानीको कुनै समस्या नरहेको भन्दै सिंगापुरबाट आवश्यक लगानी जुटाएको बताए ।
कम्पनीले २ हजार सवारी साधन राख्न मिल्ने पार्किङ, सिनेमा हल, सपिङ कम्प्लेक्स, स्विमिङ पुल सहितको अत्याधुनिक भ्यू टावर निर्माणका लागि साढे ७ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ । भ्यू टावर २९ तलासम्मको बनाउने योजना रहे पनि पहिलो चरणमा १२ तलाको मात्र बनाउने कम्पनीले जनाएको छ।  कारोबार दैनिकमा समाचार छ ।