काठमाडौँ, ६ वैशाख । प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ओली सरकारबाट मुक्ति पाउन आन्दोलन गर्ने बेला भएको बताउनुभएको छ ।
नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै कांग्रेस सभापति देउवाले सरकारले नेपाली जनतालाई खोक्रे आश्वासन देखाई दुःख दिएको बताउँदै सरकारले निरंकुशतावादी शैलिमा गतिविधिहरु गरिरहेको आरोप लगाउनुभयो ।
सभापति देउवाले वर्तमान सरकारको पालामा हत्या, हिंसा, बलत्कार, महंगी लगायतका मानिसका दैनिक जीवनयापनमा प्रत्यक्ष रुपमा अत्याधिक समस्याहरु उत्पन्न भइरहेको बताउँदै मानिसको वोल्न, लेख्न तथा प्रेस स्वतन्त्रता सम्बन्धी समेत अंकुश लगाउने घृणित कार्य गरेको आरोप लगाउनुभयो ।
सरकारले समृद्धिको नाममा नारामात्र बनाएको बताउँदै सभापति देउवाले आगामी दिनमा देशको रक्षाको लागि युवा तथा विद्यार्थीहरुले आन्दोलनको पूर्ण तयारीमा बस्न समेत आग्रह गर्नुभयो ।
कांग्रेस सभापति देउवाले विघटित नेपाल विद्यार्थी संघको पुनर्गठन छिट्टै गर्ने आश्वासन पनि दिनुभयो । नेविसंघकै नेताहरुको परामर्शको आधारमा ३२ वर्षे उमेर हद लागू गर्ने नगर्ने निर्णय भन्दै उनले नेतृत्वको चयनमा अन्याय नगर्ने आश्वासन दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्