काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बुटवल र पूर्वी नवलपरासीको कावासोतीमा आयोजना हुने कार्यक्रममा सहभागि हुन जानु हुने भएको छ ।
प्रधानमन्त्री ओलीले बिहान ११ बजे बुटवल उपमहानगरपालिकामा रहेको ऐतिहासिक जीतगढी किल्लामा कर्णेल उजुरसिंह थापाको पूर्ण कदको सालिक अनावरण गर्ने कार्यक्रम छ । उहाँले चौधरी ग्राम परिसरमा निर्मित शाश्वतधाम अवलोकन गरी काठमाडौं फर्कने कार्यक्रम तय भएको छ ।
तिनाउ खोला किनारमा रहेको गढी क्षेत्रमा निर्माण भएको सालिक नौ फिट उचाइको छ । सालिकको छेउमा ४२ फिट उचाइको राष्ट्रिय झण्डाको पनि प्रधानमन्त्री ओलीले झण्डोतोलन गर्नेछन् ।
वि।सं १८७२ मा नेपाल र अंग्रेजबीच युद्ध हुँदा कर्णेल थापाको नेतृत्वको नेपाली फौज यही किल्लाबाट अंग्रेज फौजलाई परास्त गरेको थियो । नेपाली फौजसँग लडाइँ हारेर अंग्रेज फौज दक्षिणतर्फ गएकाले कर्णेल थापाको सालिक दक्षिण तर्फ फर्काएर निर्माण गरिएको छ ।
यसैगरी दिउँसो १ बजे प्रधानमन्त्री ओलीले नवलपुरको कावासोतीमा आयोजना गरिएको बर्दघाट सुस्तापूर्व नवलपरासी जिल्लाको सदरमुकाम शिलान्यास र आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओली चौधरी उद्योग ग्रामभित्र रहेको शास्वतधाम अवलोकन गरेर काठमाडौं र्फकने उनको सचिवालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्