काठमाडौँ, ९ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो पहिलो जनवादी गणतन्त्र चीनको राजकीय भ्रमणमा दोस्रो बेल्ट एण्ड रोड फोरमसमेत गरी तीन कार्यक्रममा सहभागी हुनुहुने भएको छ ।
उहाँ चिनियाँ राष्ट्रपति सी चीनफिङको निमन्त्रणामा यही वैशाख ११ गते नौदिने भ्रमणमा चीन जाने कार्यक्रम तय भएको छ । राष्ट्रपति भण्डारीको चीनको राजकीय भ्रमण सम्बन्धमा परराष्ट्र मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ राष्ट्रपति सीको निमन्त्रणमा यही वैशाख ११ देखि १९ गतेसम्म हुने चीनको भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना हुने ‘सेकेण्ड बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’मा सहभागी हुने जानकारी दिनुभयो ।
यसै अवधिमा राष्ट्रपति भण्डारी चिनियाँ समकक्षी सीले आयोजना गर्ने राजकीय भोज तथा अन्तर्राष्ट्रिय फलफूल प्रदर्शनीको उद्घाटन समारोहमा सरिक हुने परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो । यो प्रदर्शनीमा नेपाल मण्डपको पनि व्यवस्था हुने बताइएको छ ।
राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षीबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता पनि हुने छ । वार्तापछि पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने र राष्ट्रपति भण्डारीको वरिष्ठ चिनियाँ अधिकारीसँग बेग्लाबेग्लै भेटवार्ता हुने मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।
राजधानी बेइजिङमा रहँदा राष्ट्रपति भण्डारीले चिनियाँ र नेपाली व्यापारिक समुदायलाई संयुक्त रुपमा सम्बोधन गर्ने र बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने जनाइएको छ ।
बेइजिङ प्रस्थान गर्ने क्रममा राष्ट्रपति भण्डारीले सान्सी प्रान्तको राजधानी सियानको भ्रमण गर्ने र स्वदेश फर्कँदा चीनको स्वशशासित क्षेत्रको राजधानी ल्हासाको भ्रमण गर्ने उहाँले उल्लेख गर्नुभयो । राष्ट्रपति भण्डारीले ती दुवै प्रान्तका राजनीतिक नेताहरुसँग पनि भेटवार्ता गर्नुहुनेछ ।
राष्ट्रपति भण्डारीका साथ प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत, उद्योगी–व्यवसायी र सञ्चारकर्मी रहनुहुनेछ । राष्ट्रपति भण्डारी यही वैशाख १९ गते स्वदेश फर्कने कार्यक्रम छ ।










प्रतिक्रिया दिनुहोस्