Banner News

समृद्धिका लागि साहस र धैर्यतासँगै आत्मविश्वास आवश्यक : प्रधानमन्त्री ओली



काठमाडौँ, १० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माण र समृद्धका लागी साहस र धैर्यतासँगै आत्मविश्वासको आवश्यक रहेको बताएका छन ।

मंगलबार काठमाडौँमा प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ औँ वर्षको अवसरमा आयोजित पासाङ प्रतिष्ठा दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साहस र धैर्यताका साथ देशलाई समुन्नत र प्रतिष्ठित बनाउन सकिने बताएका छन ।

उनले भने, ‘हामी आज राष्ट्र निर्माणको एउटा राष्ट्रिय अभियानमा जुटिरहेका छौँ, यस्तो बेलामा साहस र धैर्यतासँगै आत्मविश्वासको पनि आवश्यकता छ, त्यही आत्मविश्वासका साथ अगाडि बढेर देशलाई समुन्नत र प्रतिष्ठित बनाउन सक्दछौँ ।’ ‘हामीले पासाङल्हामुबाट प्रेरणा र हौसला लिनुपर्छ, असम्भव भन्ने चिज केही छैन । असम्भवलाई सम्भव बनाउन सक्दछौँ, देशलाई विकसित गर्न सक्छौँ ।’

पासाङल्हामु नेपाली महिलाको लागि प्रेरणा र साहसको प्रतीक रहेको बताउदै उनले नेपाली महिला पनि कम छैनन्, सगरमाथाको शिखरमा पाइला टेक्न सक्छन् भन्ने दृष्टिान्त पहिलो पल्ट नेपाली महिलाको तर्फबाट पासाङल्हामुले पुष्टि गरेको बताए ।

उनले भने,  ‘नेपालको पर्वतारोहणको गौरवपूर्ण इतिहास रहेको र यस पटक सगरमाथाको पुनः उचाइ मापनको काम अघि बढाइएकाले यसको वास्तविक उचाइ पत्ता लाग्ने छ ।’ ‘सगरमाथाको उचाइका सम्बन्धमा विभिन्न भिन्नता देखा परेका छन् । तीनलाई कुनै विवाद नहुने गरी टुङ्गो लगाइनेछ । नेपाल र चीन दुवैतर्फबाट सगरमाथाको वास्तविक उचाइ पत्ता लगाइनेछ ।’

प्रधानमन्त्री ओलीले प्रतिष्ठानकै परिवारका महत्वपूर्ण सदस्य पर्यटन व्यवसायी स्व आङछिरिङ शेर्पा, तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व रवीन्द्र अधिकारीसहित पर्यटन क्षेत्रका विशिष्ट व्यक्तिको निधनप्रति दुःख व्यक्त गर्दै उनीहरुको परिवारजनप्रति सरकार र प्रतिष्ठानले गर्नसक्ने काम गर्ने प्रतिबद्धता जनाएका छन ।

राष्ट्रिय विभूति पासाङल्हामु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी पर्वतारोहण इतिहासमा प्रथम नेपाली महिलाको कीर्तिमान कायम गर्न सफल भएकी उनले विसं २०५० वैशाख १० गते सगरमाथाको सफल आरोहण गरेकी थिइन । सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गरेकी पासाङल्हामुको आरोहण सकेर फर्कने क्रममा मृत्यु भएको थियो ।