काठमाडौं, २७ फागुन । सरकारले सार्वजनिक सवारीको आयु २० वर्ष मात्रै रहने नीति लागू गरेको छ । तर, यो प्रावधान लागू हुँदा आफ्नो सवारी स्क्र्याप गर्नुपर्ने ट्याक्सीधनीलाई सरकारले पुरानै नम्बरमा नयाँ खरिदको सुविधा दिने भएको छ ।
यसले ट्याक्सी व्यवसायमा पुरानै व्यवसायीको मनोमानी दोहोरिने अवस्था सिर्जना भएको छ । सार्वजनिक यातायातको रूपमा रहेका बस, मिनिबस, माइक्रोबस तथा ट्याम्पो व्यक्ति वा संस्थाले चाहेको खण्डमा दर्ता गर्न पाइन्छ । तर बागमती अञ्चलमा ट्याक्सीको दर्ता भने सरकारले खुल्ला गरेको समयमा मात्र दर्ता गर्न पाइने प्रावधान छ ।
२०५७ पछि गत वर्ष सरकारले बागमतीमा १ हजार ८ सय ५० नयाँ ट्याक्सी दर्ता गर्यो। त्यसअघिसम्म ट्याक्सीको नम्बर प्लेटलाई मात्र लाखौं मूल्य तिरेर खरिद बिक्री हुने गरेको थियो ।
दुई वर्षअघि गरेको निर्णयअनुसार सरकारले फागुन १८ गतेदेखि २० वर्ष पुराना सवारी चल्न नपाउने र उक्त सवारी स्क्र्याप गर्नुपर्ने व्यवस्था छ । यातायात व्यवसायीको दबाबमा सरकारले यसरी स्क्र्याप गरिएका ट्याक्सीधनीलाई पुरानो ट्याक्सी भएको आधारमा स्वतः नयाँ नम्बर दिने निर्णय गरेको छ ।
पुराना ट्याक्सी व्यवसायीलाई सरकारले ट्याक्सी उनीहरूको पुख्र्यौनी सम्पत्ती झैं उपलब्ध गराएको भन्दै विरोध भइरहेको छ । सरकारले भने नीतिगत निर्णय नै गरेर ट्याक्सी भएका व्यक्तिलाई उसको ट्याक्सी स्क्र्याप गरेपछि स्वतः नयाँ ट्याक्सी गर्न दिँदै आएको छ ।
यातायात व्यवसायीको दबाबमा सरकारले ट्याक्सी स्क्र्याप गरेकालाई स्वतः ट्याक्सी दर्ता गर्न दिएको हो । २०७३ असोज मसान्तमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई पुराना ट्याक्सी स्क्र्याप गरेकालाई स्वतः नयाँ दर्ता गर्न दिनु भनेर निर्देशन दिएको थियो ।
सरकारले व्यवसायीको चरम दबाबमा पुरानालाई स्वतः नयाँ ट्याक्सी दर्ता गर्ने निर्देशन दिएको विभाग उच्च स्रोतको भनाइ छ । “विभाग तथा सरोकारवालाहरूले स्क्र्याप भइ खाली भएको ट्याक्सी गोलाप्रथाबाट वितरण गर्न सकिने राय पठाएको थियो,” स्रोतले भन्यो, “सरकारले भने व्यवसायीको दबाबमा पुरानै व्यवसायीलाई पुस्तौनी सम्पत्ती झैं गरी २० वर्ष ट्याक्सी चलाइसकेकालाई नै दिने निर्णय गर्यो ।”
यसले सरकार सिन्डिकेट नियन्त्रण गर्नेतर्फ भन्दा प्रश्रय गर्न उन्मुख रहेको स्रोतले बतायो । तर विभाग भने मन्त्रालयले दिएको निर्देशन अनुसार नै काम गरेको बताउँछ । मन्त्रालयको नीतिगत निर्णय अनुसार विगतदेखि नै ट्याक्सी स्क्र्याप गरेका पुराना व्यवसायीलाई स्वतः नयाँ ट्याक्सी दर्ता गर्न बागमती अञ्चल कार्याललाई परिपत्र गरेको विभागका प्रवक्ता डा। टोकराज पाण्डेले बताए ।
०७३ असोज मसान्तको विभागको परिपत्रपछि यातायात व्यवस्था कार्यालय बागमती साना तथा ठूला सवारीले १ हजारभन्दा बढी पुरानो ट्याक्सी स्क्राप गरेका व्यवसायीलाई स्वतः नयाँ ट्याक्सी दर्ता गर्न दिइसकेको छ ।
फागुन १८ पछि २० वर्ष पुराना सवारी चल्न नपाउने निर्णयपछि पनि १ सयभन्दा धेरै ट्याक्सी स्क्राप हुने र उनीहरूले स्वतः नयाँ ट्याक्सी दर्ता गर्न पाउनेछन् । विभागको परिपत्रका आधारमा कार्यालयले नयाँ ट्याक्सी दर्ता गर्न दिएको कार्यालय प्रमुख वसन्त अधिकारीले बताए ।
यस विषयमा कार्यालयले विभागको निर्देशन मान्ने बाहेक केही गर्न नसक्ने उनको भनाइ छ । भूकम्प प्रभावितलाई सरकारले स्वरोजगार सिर्जना गर्न भन्दै १५ सय नयाँ ट्याक्सी दर्ता गर्न दिने निर्णय गरेको थियो ।
जुन वितरणको अन्तिम तयारीमा रहेको छ । १५ सय ट्याक्सीका लागि १ लाख ५० हजार भूकम्प प्रभावितहरूले आवेदन दिएको अवस्थामा २० वर्ष ट्याक्सी संचालन गरेकाहरूले के आधारमा स्वतः नयाँ ट्याक्सी दर्ताको अनुमति पाए भन्ने यो प्रश्न टड्कारो रूपमा उठेको छ । कारोबारमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्