भक्तपुर, १३ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरमा वर्तमान समयमा भएको विकासको तिव्रता नेपालको इतिहासमा विरलै भएको बताउनुभएको छ ।
भक्तपुरको शान्ति निकेतन माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सांसद बस्नेतले शिक्षा, स्वास्थ्य, रोजगारीको साथमा समृद्धि जनताको चाहना भएको बताउनुभयो । उहाँले सरकारले करिव १० प्रतिशत रकम छुट्याएको जानकारी गराउनुभयो ।
भक्तपुरमा विद्यालय पुनःनिर्माणको प्रभावकारी रुपमा भएको बताउँदै उहाँले विद्यालयले विद्यार्थीको क्षमता अभिवृद्धि तथा प्राविधिक कुराहरुको साथमा अध्ययन तथा अध्यापन गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी दिनमा सामुदायीक विद्यालयकलाई सूचना प्रविधिमैत्री बनाउन आवश्यक कम्प्युटर, इन्टरनेट लगायतका प्रविधिको प्रयोगलाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले भुकम्पको मारमा भौतिक संरचना परेको बताउँदै सामाजिक संघ संस्था तथा विभिन्न दातृ निकायको सहयोगमा गरी जम्मा ५० वटा विद्यालयको भवन निर्माण गरेको जानकारी गराउनुभयो । उहाँले नेपाल सरकारको तर्फबाट मात्रै भक्तपुरमा ४२ वटा विद्यालयको निर्माण भएको र आगामी वर्षमा १५ वटा विद्यालयहरुको निर्माण गर्ने योजना रहेको समेत जानकारी गराउनुभयो ।
भक्तपुर नगरपालिकाले सहजिकरण नगरेका कारण ७ वटा विद्यालय बन्नबाट बञ्चित भएको दुःखेसो व्यक्त गर्दै उहाँले सूर्यविनायक नगरपालिकाले एउटा वडामा एउटा नमुना विद्यालय चलाउने अभियान नै सञ्चालन गरेको जुन नेपालको लागि उदाहरणीय कार्य भएको समेत बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्