समाचार

भूकम्प पीडितलाई घर निर्माण गर्न लालपुर्जा



बाग्लुङ, १३ वैशाख । ०७२ साल वैशाख १२ गते गएको भूकम्पका कारण क्षति पु-याएको बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ काउलेका १० दलित परिवारलाई एकीकृत बस्ती निर्माण गर्नका लागि बिहीबार लालपुर्जा हस्तान्तरण गरिएको छ ।

भूकम्पले क्षति पु-याएर चिरा पारेको उक्त बस्तीमा २०७५ साल असार १२ गतेको भीषण वर्षाले बस्ती नै भासिएपछि जिल्ला आयोजना कार्यान्वयन एकाइ बागलुङले चौथो भूकम्प स्मृति दिवसमा पीडित दश परिवारलाई लालपुर्जा हस्तान्तरण गरेको हो ।

भूकम्पमा चिरा परेको स्थान छोडेर स्थानीयवासीको घरमा आश्रय लिएर बसेका दश परिवारलाई घर निर्माणका लागि लालपुर्जा उपलब्ध गराइएको आयोजना प्रमुख इञ्जिनीयर रामाशीष साहले बताए । “भूर्गभ विभागको अध्ययनपछि बस्ती स्थानान्तरण गर नजिकै रहेको सुरक्षित जमिनमा एकीकृत घर निर्माणका लागि जग्गा खरिद गरी लालपुर्जा हस्तानतरण गरिएको छ”, साहले भने, “डिपिआर विस्तृत अध्ययन प्रतिवेदन बनाइसकेपछि बस्ती निर्माणको कार्य अगाडि बढ्नेछ ।”

जग्गा खरिद गर्न प्रतिपरिवार दुई लाख, पूर्वाधार निर्माणका लागि चार लाख तथा नमूना बस्ती निर्माणका लागि तीन लाख गरी प्रतिपरिवार नौ लाख खर्च लाग्ने साहले बताए ।