राजनीति

गोरखा दरबारको पुनःनिर्माणको काम तत्काल गर्न आवश्यक : सभामुख महरा



गोरखा, १३ बैशाख । सभामुख कृष्णबहादुर महराले गोरखा दरबारको पुनःनिर्माणमाको काम तत्काल गर्न आवश्यक रहेको बताएका छन ।

शुक्रबार विहान भुकम्पपछि पुनःनिर्माणको अवस्था बुझ्न गोरखा दरबारकोे पुगेका सभामुख महराले पुनःनिर्माणको काम सुस्त भएको भन्दै त्यसमा तीव्रता दिन सम्बन्धीत सबैलाई आग्रह गरेका हुन ।

उनले भने, ‘दरबारको पुनःनिर्माणको काम अन्यन्तै सुस्त गतिमा भइरहेको देखियो’ ‘पुनःनिर्माणमा ढिलाइ हुँदा यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकसमेत प्रभावित हुनसक्छन्, त्यसैले यसको पुनःनिर्माणमा तत्काल गर्नु आवश्यक छ ।’

नेपालको इतिहासलाई जीवन्त बनाई राख्ने गोरखा दरबारको ऐतिहासिक महत्व रहेको बताउदै उनले भने, ‘दरबारको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा तीनवटै तहका सरकार, स्थानीय समुदाय र सरोकारवाला निकाय सबैको चिन्ता र चासो हुनु आवश्यक छ ।, ‘गोरखा दरबारलाई ऐतिहासिक, पुरातात्विक र पर्यटकीय गन्तव्यका रुपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सक्यौँ भने गोरखाको आर्थिक विकासमा यसले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।’

सभामुखसगै प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्ती, प्रतिनिधिसभा सदस्य हरिराज अधिकारी, पूर्वसंविधानसभा सदस्य कृष्ण धिताल, गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

गोरखाको बारपाक सुलीकोट गाउँपालिकाको आयोजनामा गोरखा भूकम्पको केन्द्रबिन्दु बारपाकमा हिजो आयोजना भएको चौथो भूकम्प स्मृति दिवसमा सहभागी हुन बुधबार साँझ गोरखा पुगेका सभामुख महरा आज गोरखाको तल्लो दरबार र माथिल्लो दरबारको अवलोकन गरी राजधानी फकेका छन् ।