राजनीति

भक्तपुरमा विप्लव समुहका दुई जिल्ला नेता नेकपामा प्रवेश



भक्तपुर, १३ वैशाख । भक्तपुरमा विप्लव समुहका दुई जिल्ला नेताले पार्टी परित्याग गरि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ९ काँक्रावारीमा आयोजित एक कार्यक्रमका बीच विप्लव समुहका भक्तपुर जिल्ला कमिटी सचिवालय सदस्य तथा सूर्यविनायक नगरपालिका इन्चार्ज यादव तामाङ र युवा नेता विराज तामाङ नेकपामा प्रवेश गर्नुभएको हो । उहाँहरुलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले पार्टी प्रवेश गराउनुभयो ।

पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्दै उहाँहरुले विप्लव समूहको चन्दा, आतंक, लुटपाट, ध्वंसात्मक गतिविधि गरि आम नेपाली जनतालाई दुःख दिने नियतका साथ अघि बढेको बताउँदै राज्यको मुल धारमा आई देश र जनताको पक्षमा रही अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँहरुले विप्लव समूहले पार्टीको सिद्धान्त भन्दा पनि व्यक्तिगत स्वार्थ बोकी अघि बढेको समेत बताउनुभयो ।

समृद्ध नेपाल सुखी नेपाली अहिलेको जनताको चाहना भएको बताउँदै उहाँहरुले विप्लवले कम्युनिष्टको सिद्धान्त भन्दा पनि आतंकवादी गतिविधि गरिरहेका बताउनुभयो । विकास र समृद्धिको साथमा राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वभिमान नै अहिलेको अनिवार्य भएको बताउँदै उहाँहरुले आगामी दिनमा राष्ट्रिय राजनीतिमा रही देश र जनताको पक्षमा अडिग र अटल भई अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ ।

नवप्रवेशीलाई आफ्नो पार्टीमा प्रवेश गराउँदै सांसद बस्नेतले सर्वाहारा वर्गको मुक्तिको लागि गरिव तथा पछाडि परेका वर्ग र समुदायहरुको हितको निम्ती काम गर्ने एक मात्र पार्टी नेकपा भएको बताउनुभयो । पुँजीवादको अन्त्य गर्दै समाजवाद हुँदै साम्यवादमा पुग्ने पार्टीको महान् लक्ष्य रहेको बताउँदै उहाँले सर्वाहारा र मध्यमवर्गका मानिसलाई गोलबन्द गर्दै शान्तिपूर्ण आन्दोलनको माध्यमबाट अघि बढ्दै राष्ट्रको उन्नती तथा प्रगतिको मार्गमा अघि बढ्नुको कुनै विकल्प नभएको बताउनुभयो ।

पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले मानिसको नैसर्गिक अधिकारलाई प्रयोग गर्दै विप्लव समूहले अपनाएको आतंक तथा अपराधिक तवरको बाटोबाट अघि बढेको जसका कारण सिमित व्यक्तिको स्वार्थपूर्ती गर्ने माध्यम भएको बताउनुभयो । सहकार्य नै विकास र समृद्धिको माध्यम भएको बताउँदै उहाँले विप्लव समूहको बाटो जनतालाई दुःख दिने र अनावश्यक डर, त्रास फैलाउने मात्र काम भएको बताउँदै राज्यको मुल धारमा आई राजनीति गर्न विप्लव समूहलाई आग्रह समेत गर्नुभयो ।