राजनीति

कार्यक्षेत्रमा नखटिने र अनावश्यक आन्दोलन गर्ने इन्जिनियरलाई तत्काल बर्खास्त गर्न युवा संघको माग



काठमाडौँ, १४ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले शर्त अनुसार कार्यक्षेत्रमा नखटिने तथा अनावश्यक माग राखी आन्दोलन गर्ने इन्जिनियरलाई तत्काल बरखास्त गर्न माग गर्नुभएको छ ।

पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतसँग भएको छलफलका क्रममा अध्यक्ष पैडेलले गैर जिम्मेवार इन्जिनियरलाई बरखास्त गरी नयाँ विकल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले देशलाई विकास र समृद्धिका कुनै पनि ढोका खोल्नुको लागि इन्जिनियरको प्रमुख जिम्मेवारी हुने भएकाले जिम्मेवारीलाई वेवास्ता गर्ने जो कोही इन्जिनियरलाई हटाउनुको कुनै विकल्प नभएको बताउनुभयो ।

अध्यक्ष पौडेलले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डता अहिलको आवश्यकता रहेको बताउँदै विकासमा अवरोध पुर्याउने जो कोहीलाई सरकार तथा सम्बन्धीत निकायले विकल्प सहित कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले वर्तमान समयमा जनताको तिव्र विकासको चाहनालाई पुरा गर्नु तीनै तहको सरकारको जिम्मेवारी भएको बताउँदै सरकारका राम्रा कामलाई आफ्नो संगठनले जस्तो सुकै सहयोग गर्न तयार रहेको समेत बताउनुभयो ।

अध्यक्ष पौडेलले २०७२ सालको महाभुकम्पका कारण देश अझैसम्म पनि दलदलमा रहेको बताउँदै जनताले सरकार भएको आभार गर्न पाउने गरी प्राधिकरणले काम गर्नुपर्नेमा जोड दिनुभयो । गास, वास, कपास लगायतका मानिसका नैसर्गिक अधिकार भएकाले भुकम्पका कारण भत्कीएका भौतिक संरचानाहरुलाई यथासक्दो चाँडो सम्पन्न गराउनुपर्ने बताउनुभयो ।

उहाँले सरकार तथा प्राधिकरणले पुनःनिर्माणका सवालमा गर्ने जुनसुकै काममा युवा तथा आफ्नो संगठनका इन्जिनियरहरुलाई स्वयम् सेवकका रुपमा परिचालन गर्ने बताउँदै प्राधिकरणसँग हातेमालो गरी अघि बढ्न आफ्नो संगठन तयार रहेको बताउनुभयो । उहाँले विकास र समृद्धिका बाधक कोही आएमा त्यसको विकल्प तुरुन्तै खोजी सरकारको नीति तथा कार्यक्रम अुनसार तिव्र गतिमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।