काठमाडौँ, १४ वैशाख । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले खुल्लामञ्च रहेका संरचनाहरु तत्कालै डोजर लगाएर भत्काउने बताउनुभएको छ ।
खुल्लामञ्चमा अतिक्रमण गरेर व्यवसायिक सटरहरु बनाइएको विषय चर्कंदै गइरहे पनि काठमाडौं महानगरपालिकाका मेयर शाक्यले उपमेयर हरिप्रभा खडगीमाथि आरोप लगाउँदै उपमेयरले खुलामञ्चमा राजनीति गरिरहेको बताउनुभयो । उपमेयरले रिपोर्ट दिनसाथ त्यहाँको संरचनाहरु भत्काउने उहाँले जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘खुलामञ्चमा बसपार्क राख्न दिएको सम्झौताभन्दा विपरीत गएर नयाँ संरचना बनाइएको जानकारी मैले चैत २४ गतेको नगरसभामा पाएँ । त्यो जानकारी पाएलगत्तै उपमेयर हरिप्रभा खड्गीलाई त्यहाँ के भएको हो, तत्कालै अनुगमन गरेर रिपोर्ट दिनुस् भनेँ । कानुनले नै उपमेयरलाई अनुगमनको जिम्मा दिएको छ । यसबीचमा उपमेयरले कुनै रिपोर्ट दिनुभएन । उहाँ आफैं त्यही २८ नम्बर वडाको बासिन्दा हुनुहुन्छ, जहाँ खुलामञ्च छ । त्यहाँका वडाध्यक्षले पनि कुनै जानकारी नदिएपछि तीनअघि शिक्षा समितिको बैठकमा मैले उपमेयरलाई पुनः सोधेँ– खोई रिपोर्ट भनेर । त्यसको साक्षी मुकुन्द रिजाल १६ नम्बर वडाको अध्यक्ष पनि हुनुहुन्छ ।’
उहाँले उपमेयरले आफ्नो जिम्मेवारी बिर्सेर कांग्रेस कार्यकर्ताको तहमा मिडियाबाजी तथा राजनीति गर्न थालेको समेत बताउनुभयो । उहाँले सांसद भीमसेनदास प्रधानसहितलाई राखेर मैले उपमेयरलाई चिठी दिएको र मेयरले दिएको निर्देशन नमानेपछि कांग्रेस कार्यकर्ताको हिसाबले तपाई निर्देशन दिनुस् भनेर सांसद प्रधानलाई आग्रह गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अब जाने त एक्सनमै हो । त्यहाँका सम्झौता विपरीतका सबै संरचना भत्काउने नै हो । उपमेयरले आज रिपोर्ट दिनुभयो भने आजै डोजर लगाइन्छ । तर, उहाँको नियत खुलामञ्च जोगाउनेभन्दा पनि मिडियाबाजी गरेर मेयरको चरित्रहत्या गर्नेखालको देखियो । उहाँले कहिले रिपोर्ट दिनुहुन्छ, हेर्छु । तर, पर्खेर धेरै बसिन्न । खुलामञ्चमा बनाइएका संरचनाहरु भत्काउछु । त्यहाँ भत्काउनुको विकल्प छैन ।’










प्रतिक्रिया दिनुहोस्