राजनीति

इमान्दार व्यक्तिले हार्ने र पैसावालाले चुनाव जित्ने अवस्थाको अन्त्य गर्छु : प्रमुख आयुक्त थपलिया



काठमाडौँ, १५ वैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निष्ठावान र इमान्दार व्यक्तिले हार्ने र पैसावालाले चुनाव जित्ने अवस्थाको अन्त्य गर्ने दाबी गर्नुभएको छ ।

मनोहरा विद्यानगर सेवा समाजले शनिबार काठमाडौँमा आयोजना गरेको अभिनन्दन समारोहमा प्रमुख आयुक्त थपलियाले निर्वाचन प्रणालीलाई निष्पक्ष र सबैले विश्वास गर्ने बनाउने विषयमा नै आफू प्रयत्नशील रहने बताउनुभएको हो ।

प्रमुख आयुक्त थपलियाले आफ्नो सम्पूर्ण प्रयास र प्रयत्नहरु निष्पक्ष निर्वाचन गराउने तर्फ केन्द्रित रहेको बताउँदै निर्वाचनलाई मर्यादित, अनुशासित, निष्पक्ष र पारदर्शी बनाउनका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले निर्वाचन प्रणालीलाई राम्रो र विश्वसनीय बनाएर मात्रै मुलुकमा सशासन कायम हुनसक्ने भन्दै उहाँले सम्पूर्ण शक्ति निष्पक्ष निर्वाचनमा लगाउने प्रतिवद्धता जाहेर गर्नुभएको हो ।

उहाँले निर्वाचनमा निष्ठा र इमानभन्दा पैसाले काम गर्न थाल्यो भने त्यसले भ्रष्टाचार बढाउने र भ्रष्टाचारले शासनलाई कमजोर पार्ने भएकाले निष्पक्ष निर्वाचन नै पहिलो प्राथमिकता बनाइनुपर्नेमा जोड दिनुभयो ।