राजनीति

अबको नेपालको बाटो भनेको हरित अर्थतन्त्रको विकास : राष्ट्रपति भण्डारी (पूर्णपाठ सहित)



काठमाडौँ, १५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले अबको नेपालको एउटै मात्र बाटो भनेको समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानलाई सार्थकतामा पुर्याउन हरित अर्थतन्त्रको विकास गर्नुको कुनै विकल्प नभएको बताउनुभएको छ ।

बेइजिङमा आयोजित दोस्रो बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मञ्चको उच्चस्तरीय बैठकमा राष्ट्रपति भण्डारीले समावेशिता विनाको दिगो विकास भ्रम मात्र हुने ठोकुवासहित सवै मुलुकको विकासमा जोड दिनुभएको छ ।

राष्ट्रपतिको सम्बोधन (पूर्णपाठ)

महामहिम राष्ट्रपति सी चिनफिङ्ग,
महामहिमहरु,
महिला तथा सज्जनवृन्द,

सर्वप्रथम हिजो उदघाटन सत्रमा यहाँले दिनुभएको दूरदृष्टियुक्त र सारगर्भित मन्तव्यका लागि महामहिम राष्ट्रपतिलाई हार्दिक धन्यवाद दिन चाहन्छु । दिगो विकासका लागि २०३० एजेण्डा जनता, पृथ्वी र समृद्धिका लागि हो । यो सोच रुपान्तरणकारी, समावेशी र समन्यायिक विकासका लागि हो । किनभने समावेशिताविनाको दिगो विकास भ्रम मात्र हुनेछ ।

यो महत्वाकांक्षी सोचको प्राप्ति राष्ट्रहरुबीचको उच्च तहको सहकार्यबाट मात्र संभव छ । यही सोचका साथ नेपालले दिगो विकास लक्ष्यलाई आफ्ना राष्ट्रिय नीति, योजना र कार्यक्रममा समाहित गरेको छ । हामी संयुक्त राष्ट्रसंघको विकास सम्बन्धी कार्यादेशलाई बलियो बनाउनु पर्दछ भन्ने पक्षमा छौं ।

यो सुखद संयोग हो, कसैलाई नछुटाई सबैको साझा विकास र समृद्धि हासिल गर्ने लक्ष्य बोकेको बेल्ट एण्ड रोड इनिसिएटिभको मर्म र भावना २०३० को एजेण्डासँग मेल खान्छ । आज बीआरआई गरिबी उन्मुलन, रोजगारी सृजना, पूर्वाधार निर्माण र औद्योगिक रुपान्तरणको एक प्रमुख संवाहक बन्दै गएको छ । वित्तीय खाडल बढिरहेको सन्दर्भमा यसले धेरै राष्ट्रहरुलाई २०३० को एजेण्डा कार्यान्वयन गर्न उल्लेख्य सहयोग पुर्याउने छ ।

जलवायु परिवर्तनले खतराको घण्टी बजाइरहेको छ । पृथ्वीले धान्नै नसक्ने गरी बढिरहेको उत्पादन र उपभोगको प्रवृत्तिले वातावरणीय विनासलाई तीब्रता दिइरहेको छ । दुर्भाग्यवस नगन्य मात्रामा कार्बन उत्सर्जन गर्ने नेपाल जस्ता मुलुकहरुले जलवायु परिवर्तनको अन्यायपूर्ण भार व्यहोर्दै छन । यसको मुख्य शिकार महिला र विपन्न समुदाय बनिरहेका छन । अबको बाटो भनेको हरित अर्थतन्त्रको विकास नै हो ।

वातावरणीय दृष्टिकोणबाट हानिकारक देखिएका विकासका मोडलहरुको पुनरावलोकन गर्ने बेला आएको छ । पृथ्वीको जलबायु अनुकुलता जोगाइ राख्न सकेनौ भने हाम्रा सन्ततीको भविष्य अन्योल मात्र होइन, गम्भीर खतरामा जाने अनुसन्धानहरुले देखाएका छन । यस अवस्थामा परिवर्तन नल्याउने हो भने दिगो विकास एक भ्रम मात्र हुनेछ ।

यस सन्दर्भमा दिगो विकासका तीनवटै अवयवहरुलाई सन्तुलनमा राख्दै स्वच्छ, नविकरणीय उर्जा र न्यून कार्बनका क्षेत्रहरुमा बीआरआईले दिएको जोडले वातावरणमैत्री अर्थतन्त्रको रुपान्तरणका लागि महत्वपूर्ण सघाउ पुर्याउन सक्दछ । त्यसैगरी सूचना प्रविधिजस्ता उदाउँदा उद्योगहरुमा गरिने सहयोगले सेवा क्षेत्रमा ठूलो वृद्धि ल्याउन सक्दछ ।

वातावरणीय जोखिम न्यून गर्न वैज्ञानिक अनुसन्धान र त्यसमाथि आधारित समाधानका उपायहरु खोजिनु पर्दछ ।

महामहिमहरु,

नेपाल अग्ला हिमालहरुको देश हो । ती अग्ला चुचुराहरु गर्मीमा शीतलता र जाडोमा न्यानोपनका स्रोतहरु हुन । पर्यावरण प्रणालीका अभिन्न अंगका रुपमा रहेका हिमालय शृङ्खला मानव जगतका साझा सम्पत्ति हुन । नेपालमा जलविद्युतका माध्यमबाट स्वच्छ उर्जाको विकास गर्ने प्रचुर संभावना छ । यसबाट नेपाल लगायत छिमेकीहरुको समेत हरित विकासमा ठूलो योगदान पुग्न सक्दछ ।

यो खुशीको विषय हो, प्राचीन सिल्क रोडको दक्षिणी हाँगाले समेटेको नेपाल अहिले बीआरआईसँग जोडिएको छ । यसले भूपरिवेष्ठित नेपालको कनेक्टिभिटी बिस्तार र विश्व बजारमा अर्थतन्त्रलाई एकीकरण गर्दै नेपालको आर्थिक रुपान्तरणमा ठूलो टेवा पुर्याउने हाम्रो विश्वास छ ।

यसका साथै, हाम्रा आर्थिक अवसरहरुमा बढोत्तरी गर्दै गरिबी उन्मुलन गर्न, व्यापारलाई गहन तथा बिस्तार गर्न, उद्योगहरुमा क्रान्ति ल्याउन, रोजगारी सृजना गर्न तथा जीवनस्तरमा सुधार ल्याउन पनि बीआरआई ठूलो सहयोगी बन्ने हाम्रो अपेक्षा छ ।

एउटा चिनियाँ भनाइ छ, ‘सडक निर्माण समृद्धितर्फको यात्राको पहिलो कदम हो ।’ हामी अहिले दीर्घकालीन लक्ष्य प्राप्तिका लागि पूर्वाधार निर्माणमा जुटेका छौं । बीआरआईबाट हामीले मूलतः हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी नेटवर्कको विकासमा जोड दिएका छौं ।

प्राचीन सिल्क रोडको मूल मर्मका रुपमा रहेको र बीआरआईले आत्मसात गरेको ‘शान्ति र सहयोग, खुलापन र समावेशीता, साझा सिकाइ र आपसी लाभ’ ले हामीलाई दिगो विकासका लक्ष्यहरु हासिल गर्न सघाउ पर्याउने छ ।

धन्यवाद !