राजनीति

अंगीकृतका सन्तानलाई वंशजको नागरिकता दिन परिपत्र गर्नु ‘सिक्किमिकरण’ : अध्यक्ष केसी



काठमाडौँ, १७ वैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अंगीकृतका सन्तानलाई वंशजको नागरिकता दिन गृहमन्त्रालयले परिपत्र गर्नु सिक्किमिकरणको प्रयास भएको बताउनुभएको छ ।

‘नागरिकता विधेयकविरुद्धको संघर्ष समन्वय समिति’को अगुवाईमा भएको प्रदर्शनपछि नयाँ बानेश्वरमा आयोजित कोणसभामा बोल्दै अध्यक्ष केसीले गैर–नेपालीलाई सहजै नागरिकता दिने नियतका साथ ल्याइएको विधेयक खारेज गर्न माग गर्नुभयो ।

माइतीघर मण्डलामा भेला भएर नयाँ बानेश्वर पुगेका प्रदर्शनकारीले चैत १९ गते जन्मसिद्ध नागिरकका सन्तानलाई वंशजको नागरिकता दिन गृहमन्त्रालयले जारी गरेको परिपत्र जलाएका थिए । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

कोणसभामा नेकपा मालेका महासचिव सीपी मैनाली लगायतका वक्ताले अंगीकृतका सन्तानलाई वंशजको नागरिकता दिन गृहमन्त्रालयले परिपत्र गर्नु देशको लागि ठूलो दुर्घटना हुने बताउनुभयो । संघीय संसदमा विचाराधिन अवस्थामा रहेको नागरिकता विधेयक पारित नभई गृह मन्त्रालयले अंगीकृतका सन्तानलाई वंशजको नागरिकता दिन परिपत्र राष्ट्र र राष्ट्रिता विरोधी भएको बताउनुभयो ।

सर्वोच्च अदालतले भने परिपत्र तत्काल कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिक आदेश दिइसकेको छ ।