Banner News

महिलाको अधिकारका लागि इतिहासमा विरुवा रोपियो, त्यसलाई मलजल गर्नुपर्छ : उपप्रम पोखरेल



काठमाडौँ, १८ वैशाख । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले लोकतान्त्रीक गणतन्त्रसँगै महिलको हक, अधिकार तथा समानताको लागि इतिहासमा एउटा विरुवा रोपिएको बताउँदै त्यसलाई आगामी दिनमा महिला तथा पुरुष दुवै मिली मलजल गर्नुपर्ने बताउनुभएको छ ।

मंगलवार ललितपुरमा साथी नेपालले आयोजना गरेको पुरुषमात्र हुने मञ्चमा इन्कार गरौं भन्ने अभियानको शुरुवात कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले नेपालको संविधानमा स्पष्ट रुपमा महिलाको हक, अधिकार र समावेशीताको सवालमा समावेश गरेको र त्यसलाई व्यवहारिकतामा लागु गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, विभिन्न संघ संस्था लगायतका अन्य निकायहरुमा अंकगणितीय रुपमा प्रतिनिधित्व सहभागीता वृद्धि हुँदै गएको बताउनुभयो ।

वस्तुलाई बुझ्न हरेक चिजलाई गती र सापेक्षतामा बुझ्नुपर्ने बताउँदै मन्त्री पोखरेलले अधिकार र समावेशीताका सलामा हुने विश्लेषण वस्तुपरक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले लैङ्गिक समानताको मुल प्रवाहिकरणको लागि कुनै वोर्ड, किताव तथा संविधानमा लेखेर मात्र नहुने भन्दै मानिसको मनमा नै समानता लेखिनुपर्नेमा जोड दिनुभयो ।

समानताको लागि मानिसमा भित्रि आत्मादेखी नै सोच परिवर्तन हुनुपर्नै बताउँदै मन्त्री पोखरेलले सचेतनाको साथमा कानुन र संरचना आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले महिला सहभागीताको लागि रचनात्मक जनदवाप आवश्यक रहेको औल्याउँदै जनदवापले काम नगरेमा दण्डित गर्नुको कुनै विकल्प नभएको समेत बताउनुभयो ।

Yashoda Timsina

कार्यक्रममा राष्ट्रिय सूचना आयुक्त यशोदा तिम्सिनाले हरेक व्यक्ति संस्था भएको र सोही अनुसार हरेक व्यक्तिबाट नै समानुपातिक तथा समावेशीताको शुरुवात गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिला र पुरुषबीच समानता भएमात्र समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल हुने बताउँदै लोकतन्त्रको स्थापनासँगै महिलाको हक अधिकार धेरैमात्रामा उपलब्धी भएको र त्यसलाई सदुपयोग गर्न व्यापक रुपमा सहभागीता, सकृयता, क्षमता अभिवृद्धि, तालिम, गोष्ठि लगायतका कार्यहरु गर्नुपर्नेमा जोड दिनुभयो ।

महिलाले मात्र महिलाको हक र अधिकारलाई स्थापीत गर्न नसक्ने भन्दै आयुक्त तिम्सिनाले महिलाले मात्र सञ्चालन गर्ने कार्यक्रम तथा संस्थामा पनि कम्तिमा ३३ प्रतिशत पुरुषको सहभागीता अनिवार्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आसन, भाषण लगायतका कार्यहरुमा महिलाको मात्र सहभागीता नभई पुरुषको पनि सहभागीता अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो । आफ्ना घरका महिला चाँही घरमा नै सिमित हुनुपर्ने र अरुका महिला चाँही छलफलमा हुनुपर्ने भन्ने मानसिकता त्याग्न जरुरी रहेको समेत औल्याउनुभयो ।

नगरपालिका संघका प्रमुख तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार व्याञ्जुले पुरुष र महिला एक सिक्काका दुई पाटा भएकाले महिला र पुरुषबीचमा अतिवाद हुनु नहुने धारणा व्यक्त गर्नुभयो । उहाँले सरकारमा पुग्नुमात्र समानता नभई संस्कारमा समानता हुनु अपरिहार्य रहेको बताउनुभयो । उहाँले जान्नेले शासन गर्छ र नजान्नेलाई जान्ने र शासन गर्न सक्ने बनाउनु नै सच्चा समानता हुने बताउनुभयो ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले विकसित मुलुकको तुलनामा नेपालमा महिलाको सहभागीता उत्कृष्ट तथा उपलब्धीमूलक रहेको बताउनुभयो । उहाँले सकारात्मक पराकम्पन सहितको महिला सहभागीता र समानतामूलक समाजको निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा नेपाल टेलभिजनका अध्यक्ष महेन्द्र विष्टले महिलाका अधिकार तथा समावेशीतालाई संविधानमा लेखेर मात्र नहुने बताउँदै कडाइका साथ कार्यान्वयन नै अहिलेको अपरहार्यता रहेको बताउनुभयो । उहाँले सामाजिक, सांस्कृति, धार्मिक, परम्परा लगायतका कार्यहरु नै महिलाको समानुपातीक तथा समावेशीताको कार्यान्वयनमा मूख्य चुनौति रहेको औल्याउनुभयो ।

कार्यक्रमको अध्यक्ष तथा सिड कमिटीका उपाध्यक्ष बन्दना राणा महिलाको आवाजमा पुरुषको मात्र सहभागीताले अधिकारले पूर्णता पाउन नसक्ने बताउनुभयो । उहाँले महिलाको आवाज र अस्थित्व स्थापीत गर्नुपर्ने बताउँदै महिलालाई हेर्ने सोचमा नै परिवर्तन ल्याउनुपर्ने जरुरी रहेको बताउनुभयो ।