‘८० प्रतिशत वालवालिकाको क्यान्सर निको हुन्छ’ : विशेषज्ञ
ललितपुर, १९ बैशाख । क्यान्सरको उपचारपछि निको भएका र उपचारका क्रममा रहेका वालवालिकालाई सहभागी गराई आगामी असार २८ गते नेपालमै पहिलोपल्ट ‘सुदिप्त चाइल्ड क्यान्सर सर्भाइभर्स र्याम्प शो’ आयोजना हुन लागेको छ ।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि तथा नेपाल क्यान्सर सपोर्ट ग्रुपको संयुक्त आयोजनामा सो ‘सुदिप्त चाइल्ड क्यान्सर सर्भाइभर्स र्याम्प शो’ गर्न लागिएको हो ।
क्यान्सर निको भएका १९ महिला र ५ पुरुषलाई सहभागी गराई गत २७ पुसमा नेपालमै पहिलोपटक ‘सुदिप्त क्यान्सर र्याम्प शो २०१८’ को सफल आयोजना गरेको आयोजकले क्यान्सर भएर निको भईसकेका वालवालिकालाई र्याम्पमा उतारेर उक्त शो आयोजना गर्न लागेको हो ।
‘क्यान्सर जटिल रोग होइन’, ‘क्यान्सर लागेपछि मानिस मरिहाल्दैन, समयमै उपचार गरे बाँच्नसक्छ’ भन्ने सन्देश दिन क्यान्सर निको भएका करीव ५० जना वालवालिकालाई सहभागी गराई सो र्याम्प शो आयोजना गर्न लागिएको हो ।
क्यान्सर जितेका वालवालिका र उपचारका क्रममा रहेका वालवालिकाका साथ उनीहरुका अभिभावकहरुको पहिलो भेटघाट तथा र्याम्प शो को तिथी जानकारी गराउन आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै अस्पताल तथा नेपाल क्यान्सर सपोर्ट ग्रुपकी कार्यकारी सदस्य स्वरुपा श्रेष्ठले समयमै उपचार गराउन र क्यान्सर ठुलो रोग होइन भन्ने समाजमा सन्देश दिनका लागि र्याम्प शो आयोजना गर्न लागिएको बताइन ।
कार्यक्रममा बोल्दै नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष तथा वरिष्ठ क्यान्सर विशेषज्ञ डा.सुदिप श्रेष्ठले जुनसुकै स्टेजको भएतापनि समयमै उपचार हुनसकेमा वयस्क व्यक्ति भन्दा १८ वर्ष मुनिका क्यान्सर पीडित वालवालिकाको रोग ८० प्रतिशत निको हुने बताए ।
‘नेपालजस्तो विकासोन्मुख मुलुकमा वर्षेनी ३ लाखको संख्यामा क्यान्सर भएका वालवालिका थपिन्छन’—डा.श्रेष्ठले भने—‘तर समयमै रोग पहिचान हुन नसक्दा र समयमै उपचार हुन नपाउँदा नेपालमा चाँहि त्यस्ता ८० प्रतिशत वालवालिका मर्छन, जुन निकै दुःखद कुरा हो, विकसित मुलुकमा भने क्यान्सर भएका ८० प्रतिशत वालवालिका समयमै उपचार पाएर बाँच्छन र २० प्रतिशतमात्रै मर्छन ।’
सरकारले क्यान्सर लागेका वयस्क व्यक्तिलाई दिईराखेको एकलाख रुपैयाँ उपचार खर्च अपुग भएको उल्लेख गर्दै अझ वालवालिकाको लागि ५ लाख रुपैयाँ उपचार खर्च झन कम हुने बताए । ‘वयस्क व्यक्तिको भन्दा वालवालिकामा लगानी गरेको उपचार खर्च बढी उपयोगी हुन्छ, किनकी क्यान्सर भएर समयमै उपचार गरेका अधिकाँश वालवालिकालाई बचाउन सकिन्छ’—कार्यकारी अध्यक्ष डा.श्रेष्ठले भने ।
कार्यक्रममा अस्पतालको वाल क्यान्सर विशेषज्ञ डा. प्रकाशनिधि तिवारीले नेपालमा वालवालिकामा हुने गरेको क्यान्सरको प्रकार र उपचार नेपालमै उपलव्ध उपचार सुविधाका बारेमा प्रकाश पारे । रक्तक्यान्सर, कलेजो, मांशपेशी, हाड, ग्रन्थीलगायत वालवालिकाको शरीरको जुनसुकै अंगमा लागेको क्यान्सर जुनसुकै चरणको भएपनि निको पार्न कठिन नहुने डा. तिवारीले बताए । केटाकेटीको शरीरको वनौट नै यस्तो हुन्छ कि यसले सबै प्रकारको क्यान्सरलाई सजिलै निको पार्छ, उनले भने ।
त्यस अवसरमा अस्पतालकी अर्की वाल क्यान्सर विशेषत्र अञ्जली पाठकले पनि वाल क्यान्सरका विविध पक्षबारे बोलेकी थिइन भने जादुगर दि ग्रेट सुशीलले वालवालिकालाई जादु देखाएर मनोरञ्जन गराएका थिए ।










प्रतिक्रिया दिनुहोस्