पोखरा, १९ बैशाख । गण्डकी प्रदेशका सांसद तथा निवर्तमान युवा संघ नेपालका अध्यक्ष राजिव पहारीले साइकल तथा ह्वीलचेयर वितरण गर्दै सामाजिक कार्यमा भावनात्मक तथा रचनात्मक विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।
बुधवार चिल्लीवार एण्ड रेस्टुरेन्टको १०औं वार्षिकोत्सवको अवसरमा सांसद पहारीले टुरिष्ट प्रहरीलाई चार वटा साइकल र अपाङ्गता भएका व्यक्तिलाई ६ वटा ह्वीलचेयर हस्तान्तरण गर्नुभएको छ । साइकल तथा ह्वीलचेयर हस्तान्तरण गर्दै सांसद पहारीले फजुल खर्चमा भन्दा सामाजिक कार्यमा भावनात्मक तथा रचनात्मक रुपमा प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद पहारीले देश विकास र समृद्धिको लागि सवै प्रकारका मानिसको आ–आफ्नै ठाउँमा उत्तीकै महत्व र जिम्मेवारी रहेको बताउँदै कुनै पनि सरकारी तथा गैरसरकारी संघ संस्थाले सामाजिक कार्य तथा समाज रुपान्तरणको लागि काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले कुनै पनि संस्थाको वार्षिकोत्सव, स्थापना दिवश, कुनै व्यक्तिको जन्मोत्सव, भोज भतेर लगायतका दिनहरुमा फजुल खर्च गर्नुभन्दा दुःखमा परेका मानिस तथा सामाजिक कार्य उक्त रकम सहयोग गरे समाजको उदाहरणीय कार्य हुने बताउनुभयो ।

वर्तमान समयमा समाजलाई रुपान्तरण गर्न सरकारले मात्रै असम्भव रहेको बताउँदै सांसद पहारीले व्यक्ति, संस्था र समाज नै सामाजिक रुपान्तरणको महत्वपूर्ण पक्ष रहेको औंल्याउनुभयो । एक एक थोपा पानी जम्मा भई समुन्द्र बनेको हुन्छ भन्दै उहाँले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्याउन आम नेपालीको समान भूमिका अपरिहार्य रहने बताउनुभयो ।

तिव्र विकास र समृद्धि आम नेपालीको चाहना भएको बताउँदै निवर्तमान युवा संघ नेपालका अध्यक्ष समेत रहनुभएका सांसद पहारीले आर्थिक वृद्धि, सामाजिक रुपान्तरण, सांस्कृतिक, पर्यटकीय, उद्योगको विकास र विस्तार गर्दै रोजगारीको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
समृद्ध पोखरा बनाउने महान् उद्देश्य वोकी अहोरात्र विकास तथा परिवर्तनको पक्षमा लागि परिरहनुभएका सांसद पहारीको नेतृत्वमा पोखराको फेवाताल संरक्षण, सफाई अभियान, लगायतका कार्यहरुलाई व्यापक रुपमा अघि बढाइरहनुभएको छ । आफ्नो सरकारी सेवा सुविधालाई सामाजिक क्षेत्रमा प्रयोग गर्ने उद्घोषका साथ अघि बढ्नुभएका सांसद पहारीले शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन, खेलकुद, सरसफाई लगायतका क्षेत्रमा आर्थिक, मानसिक तथा शारीरिक लगातका सहयोगहरु निरन्तर रुपमा गर्दै आउनुभएको छ ।

संस्थाका अध्यक्ष गोविन्द विकको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष जगत पहारी, कास्की प्रहरी प्रमुख ओम राना, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरन्जिवी पोखरेल, विश्वराज पौडेल, भिष्म पौडेल लगायतले रेस्टुरेन्टको वार्षिकोत्सवको अवसरमा विशेष शुभकामना व्यक्त गर्नुभएको थियो ।











प्रतिक्रिया दिनुहोस्