काठमाडौँ, २० बैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश १ र ३ को नाम नदीबाट राख्न सम्बन्धित प्रदेशका नेतालाई केन्द्रबाटै निर्देशन पठाएको छ ।
प्रदेशको नाम र राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले नेकपा केन्द्रीय कार्यालयले औपचारिक वा लिखित निर्देशन नपठाए पनि पार्टीको प्रदेश कमिटीका पदाधिकारी र मुख्यमन्त्री शेरधन राईलाई मौखिक निर्देशन दिई प्रदेशको नाम कोशी र राजधानी बिराटनगर बनाउन भनेको हो ।
किरातमा सहमति नभए पनि सगरमाथा प्रदेश र इटहरी राजधानी राख्ने पक्षमा नेकपाका बहुमत सांसद भए पनि अन्ततः पार्टीले कोशी प्रदेश र बिराटनगर राजधानी कायम गर्न निर्देशन दिएको एक नेताले बताए । नेकपाभित्र प्रदेशको नाम र राजधानीलाई लिएर तीन दिनदेखि बैठक र छलफल भइरहेका थिए ।
यसैबीच प्रदेश ३ को नाम र राजधानीमा पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको निर्देशन नै अन्तिम हुने नेकपा स्रोतले जनाएको छ । स्रोतका अनुसार अध्यक्ष ओलीले मुख्यमन्त्री डोरमणि पौडेललाई राजधानी हेटौंडा नै प्रस्ताव गर्न ‘अनुमति’ दिइसकेका छन् ।
नेकपा प्रदेशसभा संसदीय दलको बैठक शुक्रबार बस्दैछ ।










प्रतिक्रिया दिनुहोस्