राजनीति

कर्मचारीको गुनासो वैशाखभित्र सम्बोधन हुन्छ : मन्त्री पण्डित



काठमाडौँ, २० बैशाख । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले समायोजनमा गएका कर्मचारीहरुको सबै गुनासो वैशाखभित्र सम्बोधन गर्ने तयारी गरेको छ ।

शुक्रबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सरकारले प्रदेश फरक परेका, श्रीमान वा श्रीमती फरक–फरक ठाउँमा भएकाहरुलाई पायक पर्ने ठाउँमा समायोजनमा खटाउनेसहितको कानुनी व्यवस्था गरेको छ । त्यहीकानुन व्यवस्था अनुसार, कर्मचारीहरुको गुनासो सम्बोधनको काम भैरहेको मन्त्री पण्डितले जानकारी गराउनुभयो ।

मन्त्री पण्डितले समायोजनमा गएका प्रशासनतर्फका कर्मचारीहरुको गुनासो सम्बोधन गर्ने काम सकिएको र अहिले स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको गुनासो सम्बोधनको काम भैरहेको पनि जानकारी दिनुभयो । पण्डितले आगामी एक हप्ताभित्रै कर्मचारी समायोजनको सम्पूर्ण काम सम्पन्न गरिसक्ने विश्वास दिलाउनु भएको छ । उहाँले अगाडि भन्नुभयो,‘एकात्मक शासन व्यवस्थाबाट संघीयतामा जाने मुलुकहरुमध्ये नेपाल अन्य भन्दा तीव्र गतिमा काम अघि बढाउनेमा पर्दछ ।’

संघीयता कार्यान्वयनका कामहरु अघि बढाउँदा केही अप्ठ्याराहरु आएपनि वर्तमान सरकारले बढो जिम्मेवार ढंगले कामहरु सम्पन्न गरिरहेको पनि मन्त्री पण्डितको दावी छ । उहाँले भन्नुभयो,‘हामीले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापनदेखि लिएर प्रशासनिक संरचनाहरु तयार गरिसक्यौं । कर्मचारी समायोजनमा केही समस्या देखिएपनि त्योपनि हामीले कुशलतापूर्वक सम्पन्न गर्दैछौं ।’

प्रदेश लोकसेवा आयोग गठन नहुञ्जेलसम्म केन्द्रले कर्मचारी भर्नाको आवश्यकत्ता पूर्ति गर्ने भएकोले आउने हप्ताभित्र स्थानीय र प्रदेश तहको लागि कमर्चारी आवश्यकत्ताको लागि विज्ञापन गरिने मन्त्री पण्डितले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,‘अब ठूलो संख्यामा लोकसेवाको विज्ञापन खोलिनेछ ।’