राजनीति

सरकार अधिनायकवादको बाटोमा उन्मुख : वरिष्ठ नेता पौडेल



रामेछाप, २५ बैशाख । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार राष्ट्रपतिलाई प्रयोग गरेर अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउनुभएको छ ।

मंगलबार रामेछापमा आयोजित कार्यक्रममा बोल्दै उहाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिलाई प्रयोग गरेर सरकार अधिनायकवादतर्फ उन्मुख भएको जिकिर गर्नुभयो । नेता पौडेलले न्यायपालिका, व्यवस्थापिका र अख्तियारलाई समेत मुठ्ठीमा लिएर सरकार सर्वसत्तावाद तर्फ उन्मुख भएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘स्वतन्त्र निकायलाई समेत स्वतन्त्र रुपले काम गर्न नदिएर आफ्नो मुठ्ठीमा राखेर प्रधानमन्त्री निर्देशन दिन्छन् । यो अधिनायकवादको नमुना हैन ?’

उहाँले लोकतान्त्रिक शासन व्यवस्था विपरीतको निरंकुश एकतन्त्रात्मक शासन व्यवस्थाका पक्षपाती कम्युनिष्टहरुले शासन सत्ता सम्हालेकोले देश अधोगति तर्फ लागेको पौडेलको दावी छ । नेता पौडेलले सरकार देशमा सुरक्षा, सुशासन र समृद्धि दिन समेत असफल भएको दावी गर्नुभयो ।