Banner News

हामी जीवित रहँदै काठमाडौँमा रेल आउँछ : अध्यक्ष प्रचण्ड



काठमाडौँ, ३० बैशाख ।  नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले हामी जीवित रहँदै काठमाडौँमा रेल आउँने बताएका छन ।

सोमबार बिहान प्रज्ञा भवनमा राष्ट्रिय विभूति सीताको जन्म जयन्ती समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चीनको ल्हासाबाट केही वर्षभित्रै रेल काठमाडौँ आउने र उक्त रेललाई लुम्बिनी र पोखरासम्म पुर्‍याउने बताएका छन ।

ल्हासाबाट काठमाडौँ रेल ल्याउने कुरा सुरुमा सपना जस्तो लागे पनि अब त्यो विपनामा परिणत हुन लागेको बताउदै उनले भने, ‘अब केही वर्षभित्रै, तपाईं हामी जीवित रहँदारहँदै रेल आउने भइनैसकेको छ ।’

आफू प्रधानमन्त्री हुँदा सबैभन्दा पहिले चिनियाँ राष्ट्रपतिलाई ल्हासाबाट रेल ल्याउने र भृकुटीले खेलेको भूमिकालाई स्थापित गर्न नयाँ अभियान चलाउने कुरा गरेको जानकारी दिँदै प्रचण्डले भने, ‘चीन भ्रमणमा जाँदा मैले त्यहाँका राष्ट्रपतिलाई भनेको थिएँ, ल्हासाबाट काठमाडौँ हुँदै पोखरा र लुम्बिनीसम्म रेल लैजाने कुरा । यो सपना साकार पार्न हामीले मिलेर काम गर्नुपर्छ भनेको थिएँ । अहिले मलाई अब यो सपना रहेन । अब त्यो सपना विपनामा साकार हुँदैछ ।’

प्रचण्डले नेपालका शक्तिपीठहरु र नेपाल-भारतका शक्तिपीठहरुलाई पनि जोडेर सर्किट बनाउन सकिए धार्मिक पर्यटनको विकासमा क्रान्ति आउने बताउदै उनले भने, ‘लुम्बिनी, पशुपति र जनकपुरलाई जोड्ने एउटा सर्किट देशभित्रै बनाउन जरुरी छ, । अनि पूर्व पाथिभरादेखि बाजुराको बडिमालीकासम्मका सबै शक्तिपीठहरुलाई जोड्ने शक्तिपीठ सर्किट बनाउन जरुरी छ ।’