समाचार

प्रताप स्मृति पुरस्कार ‘भट्टराई’ र सीतादेवी स्मृति पुरस्कार ‘भण्डारी’ लाई



काठमाडौँ, ३१ बैशाख । २०७५ सालको प्रतापस्मृति पत्रकारिता पुरस्कार चन्द्रमणि भट्टराई र सीतादेवी ढकाल स्मृति पत्रकारिता पुरस्कार बैकुण्ठ भण्डारीलाई प्रदान गरिएको छ । आइतबार राजधानीमा नेपाल पत्रकार मञ्चले आयोजना गरेको पत्रकारिता पुरस्कार तथा अग्रज पत्रकार सम्मान कार्यक्रममा नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत साइद अल नाक्वीले उक्त पुरस्कार प्रदान गर्नुभएको हो । यी पुरस्कारहरु क्रमशः १५ हजार र २० हजार रुपैयाँ राशीका हुन् । कार्यक्रममा इजहार मिकरानी र पूर्ण महर्जनलाई अग्रज पत्रकार सम्मान प्रदान गरिएको थियो ।

प्रताप स्मृति पत्रकारिता पुरस्कार पत्रकार योगेन्द्रप्रताप शाहीले बि. सं. २०६७ मा आफ्ना स्वर्गीय पिताको स्मृतिमा स्थापना गर्नुभएको हो । त्यस्तै पत्रकार यज्ञबहादुर ढकालले स्वर्गीय आमाको स्मृतिमा गएको बर्ष सीतादेवी स्मृति पत्रकारिता पुरस्कार घोषणा स्थापना गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै राजदूत नाक्वीले — लोकतन्त्रमा नागरिकका आवाज आमसञ्चारले बोल्नु पर्ने बताउनुभयो । आमजनताको बोली सञ्चारले बोल्न थालेपछि शुशासन र पारदर्शिता कायम हुने तथा समावेशी बिकासमा योगदान पुग्ने धारणा राख्दै राजदूत नाक्वीले यसका लागि प्रेस र अभिव्यक्ति स्वतन्त्रतामा ख्याल गर्नुपर्ने बताउनुभयो ।

नेपाली आमसञ्चार अहिले सरकारले तयार पारेको मिडिया काउन्सिल सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको बिधेयकको पासोमा छ । कार्यक्रममा बोल्ने क्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले — प्रस्ताव गर्न खोजिएको व्यवस्थाभन्दा अहिलेको व्यवस्था धेरै लोकतान्त्रिक र समावेशी भएको टिप्पणी गर्नुभयो । यो बिधेयक स्वीकृत हुने हो भने कसैले पनि खोजमुलक समाचार लेख्न सक्दैन । त्यसैले प्रेस र अभिव्यक्ति स्वतन्त्रताका लागि हामी अन्तराष्ट्रिय मिडिया र संयुक्त राष्ट्र संघको ध्यान आकर्षित गराउने प्रयासमा छौं, महासचिवको भनाइ थियो ।

लैङ्गिकमैत्री र समावेशी समाज निर्माण गर्न अझै पनि धेरै काम गर्न बाँकी छ । कार्यक्रममा नेपाल टेलिभिजनकी निर्देशक एवं लैङ्गिक बिश्लेषक आरती चटौतले स्वतन्त्र पत्रकारिता गर्ने वातावरणले कसैलाई नोक्सान नहुने बताउनुभयो । नेपाल पत्रकार मञ्चले अहिले २ वटा पुरस्कार दिइरहेको छ । पत्रकारलाई काममा हौसला दिन यसको संख्या बढाउने तयारी छ । कार्यक्रममा मञ्चका कार्यक्रमका बिषयमा जानकारी दिने क्रममा अध्यक्ष युवराज युवराज बिद्रोहीले — पत्रकार आफू आफैंलाई प्रोत्साहित गरिहेको अबस्थालाई सरकारले अबमुल्यन गर्न नहुने बताउनुभयो ।