समाचार

बाँँकेमा ६५ राउन्ड हवाई फायर



बाँके, ४ जेठ । प्रहरीले चरेस ओसारपसारको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेपछि बाँकेको नरैनापुर क्षेत्रमा भएको शुक्रबार रातभर भएको तनावग्रस्त स्थितिलाई नियन्त्रणमा लिन प्रहरीलाई ६५ राउण्ड हवाई फायर गर्नु परेको छ ।

चौकी घेराउसँगै तोडफोड र ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन ६५ राउण्ड हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ । भारतीय युवाको समूहले इलाका प्रहरी कार्यालय भगवानपुरको एउटा गाडी र मोटरसाइकल तोडफोड समेत गर्‍यो ।

पाँच किलो चरेसहित पक्राउ परेका भारतीय नागरिकलाई छुटाउन दबाव दिँदै एक समूहले नरैनापुर गाउँपालिका ५ स्थित भगवानपुर प्रहरी चौकी घेराउ गरेको थियो । सो समूहले प्रदेश सांसद कृष्णा केसी ‘नमूना’सहितको टोलीमाथि पनि आक्रमण प्रयास गरेको थियो ।

प्रहरीले साँझ पाँच बजेतिर भारतीय नागरिक देवीविन विश्वकर्मालाई सीमा क्षेत्र नरैनापुरबाट चरेससहित पक्राउ गरेर ल्याएको थियो । त्यसको विरोधमा भारतीय नागरिकहरुको ठूलो समूह चौकी घेर्न आएको थियो ।