ललितपुर, ६ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनप्रतिनिधिले जनतालाई राम्रो सेवासुविधा दियौं भन्ने प्रमाणित गर्नु आवश्यक रहेको बताउनुभएको छ ।
ललितपुर महानगरपालिका वडा नं २६ कार्यालयको नवनिर्मित भवनको आइतबार ढोलाहिटीमा उदघाटन गर्दै प्रचण्डले स्थानीय तहका जनप्रतिनिधिले जनतामाथि शासन नभई जनताको मन जितेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सिंहदरबारको अधिकार जनताकै घरदैलोमा ल्याउने योजनाअन्तर्गतकै तीन तहको सरकार बनेको हो । स्थानीय तह जनताको सेवासुविधाका लागि हो । त्यसतर्फ विशेष ध्यान दिनु आवश्यक छ ।’
पूर्वप्रधानमन्त्री दाहालले बजेट र पूर्वाधारको अभावले धेरै स्थानीय तहमा जनअपेक्षित सेवा प्रदान गर्न नसके पनि अब भने जनपक्षीय काममा केन्द्रित हुन आग्रह गर्नुभयो । उहाँले स्थानीय सरकार सञ्चालनका लागि केही ऐन नियम बनिनसकेको र अभाव रहेकैबेला हिजोकै एकात्मक राज्य नै ठीक भन्ने अलिअलि सल्बलाउन थाले पनि क्रमशः विकास निर्माणले गति लिन थालेपछि त्यस्तो प्रवृत्ति हराएर जाने स्पष्ट पार्नुभयो ।
ललितपुरको समृद्धि र विकास आफ्नो पनि चाहना हो भन्दै दाहालले यसका लागि प्रधानमन्त्रीसहितको जनप्रतिनिधिको बैठक राख्न पहल गर्ने जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘काठमाडौँ तराई–मधेश द्रुतमार्ग र ललितपुरको विकासका लागि प्रधानमन्त्रीसहितको बैठक राख्न म पहल गर्छ, ललितपुर जिल्लाको समृद्धि र यहाँको जनताको हितका निम्ति निरन्तर सहयोग गर्ने वचन दिन्छु ।’










प्रतिक्रिया दिनुहोस्