स्वास्थ्य

बर्डफ्लु परीक्षण गर्न एक सय ७२ को नमुना जापान पठाइयो



नेपालमा बर्डफ्लुबाट एकजनाको मृत्यु भएपछि उनको नजिक गएका एक सय ७२ जनाको नमुना संकलन गरी सरकारले परीक्षणका लागि जापान पठाएको छ ।

सोमबार जापानको डब्लुएचओ कोलाबोरेटिङ सेन्टर फर इन्फ्लुएन्जा प्रयोगशालामा नमुना पठाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

गत १५ चैतमा काभ्रेका २१ वर्षीय युवकको बर्डफ्लु संक्रमणबाट ज्यान गएको थियो । सोही ल्याबले ती युवकलाई एच फाइभ एन वान भाइरस लागेको प्रमाणित गरेको थियो ।

सरुवारोग विशेषज्ञहरूका अनुसार बर्डफ्लु भाइरस टाढाबाट सर्दैन । एक मिटरको दूरीमा मात्रै यो भाइरस एकबाट अर्कोमा सर्न सक्छ । ‘त्यसैले हामीले संक्रमित मानिसको नजिक आएका एक सय ७२ जनाको नमुना संकलन गरी जापान पठाएका हौँ,’ महाशाखाका एक अधिकारीले भने ।

महाशाखाका अनुसार एक मिटरको दूरीमा पनि धेरैपटक आवतजावत भएपछि मात्रै यो भाइरस सर्छ । तर, हालसम्म मान्छेबाट मान्छेमा बर्डफ्लु सरेको छैन । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।