पाँचथर, ७ जेठ । पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा भएको सामूहिक हत्या पारिवारिक विवादका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
उक्त घटनाको अनुसन्धान टोली स्रोतका अनुसार रुखमा झुण्डिएको अवस्थामा भेटिएका मोखिम मृतक फियाक परिवारका ज्वाइँ हुन् । उनको ससुराली परिवारसँग राम्रो सम्बन्ध थिएन । उनको ‘श्रीमतीले पनि उनीसँग सम्बन्ध विच्छेद गर्न चाहेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रमुख डीएसपी नरेन्द्र कुँवरले पनि घटनामा एक जनाको मात्रै संलग्नता हुनसक्ने देखिएको बताउदै उनले भने, ‘हामी अहिले शव भेटिएको स्थलतिर जाँदैछौं तर, शव भेटिनुअघि नै उनी संदिग्ध रुपमा हाम्रो दायरामा आएका व्यक्ति हुन् ।’
गएराति भएको घटनामा ९ जनको हत्या भएको छ । हत्या हुनेहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती पुर्सीमाया फियाक र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।
उक्त घटनाको अनुसन्धानका लागि हाल काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसपी उमाप्रसाद चर्तुवेदी नेतृत्वको टोली पनि त्यसतर्फ गइसकेको छ ।










प्रतिक्रिया दिनुहोस्