काठमाडौँ, ८ जेठ । गृहमन्त्री रामबहादुर थापा बादलले पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पर्ने आरुबोटेमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धान गरी सत्य(तथ्य चाँडै सार्वजनिक गर्ने बताउनुभएको छ ।
बुधबार राष्ट्रियसभामा सार्वजनिक महत्वको विषयमा समय माग गरेर सामूहिक हत्याकाण्डका बारेमा सदनलाई जानकारी गराउँदै घटनाको अनुसन्धान गरेर सत्यतथ्य पेस गर्न सुरक्षा निकायलाई निर्देशन दिएको जानकारी गराउनुभयो ।
मन्त्री थापाले आगामी दिनमा यस्ता जघन्य अपराध हुन नदिन पनि सुरक्षा निकायलाई सजग र सचेत रहन गृह मन्त्रालयले निर्देशन दिएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘‘सामूहिक हत्याकाण्डको अनुसन्धान जारी छ । घटनाको अनुसन्धान गरेर यथाशक्य सत्यतथ्य पेस गर्न मातहतलाई निर्देशन दिइएको छ, आगामी दिनमा यस्ता खाले अपराध हुन नदिन सजग र सचेत रहन सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।’’
मन्त्री थापाले हत्या गरिएका नौ जना र रुखमा झुण्डिएको अवस्थामा फेला परेका व्यक्ति गरी १० जनाको शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको जानकारी गराउनुभयो । उहाँले घटनामा ज्यान जोगाउन सफल १२ वर्षीया बालिका सीता खजुमको दमकमा उपचार भइरहेको जानकारी दिँदैं गृहमन्त्री थापाले घटनामा धारिलो हतियार प्रयोग भएको जानकारी गृहमन्त्रालयले पाएको बताउनुभयो ।
सोमबार राति आरुबोटेका धनराज शेर्मा लिम्बू र बमबहादुर फियाक लिम्बूको परिवारका नौ जनाको हत्या भएको थियो । धनराजको घरमा पाँचवटा र बमकुमारो घरमा चारवटा शव फेला परेको हो । प्रहरीका अनुसार हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम खुल्न नसकेकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।
स्थानीयका अनुसार धनराज बमबहादुरका छोरीज्वाँई हुन् । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो । यसैबीच बमबहादुरका कान्छा छोरीज्वाँई मानबहादुर माखिम सामूहिक हत्या गरिएको स्थानबाट झण्डै दुई घण्टाको पैदल दूरीमा पर्ने लिम्बा गाउँमा रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।










प्रतिक्रिया दिनुहोस्