पोखरा, ८ जेठ । गण्डकी प्रदेशका सांसद, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता तथा पूर्वयुवा संघ नेपालका अध्यक्ष राजीव पहारीले शिक्षा, स्वास्थ्य र खाद्यको क्षेत्रमा विगत, वर्तमान र भविष्यको बारेमा आफ्नो निर्वाचन क्षेत्रको गाउँ गाउँमा गई नागरिक समाजका अगुवा तथा कृषकहरुसँग प्रत्यक्ष रुपमा छलफल तथा अन्तरक्रिया कार्यक्रम शुभारम्भ गर्नुभएको छ ।
आज अन्नपूर्ण गाउँपालिका ढिकुरपोखरी, कास्कीमा अनौपचारिक सेवा केन्द्र (इन्सेक)को आयोजनामा भएको ‘शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकार’ विषयक ‘सार्वजनिक सुनुवाई’ कार्यक्रममा सांसद पहारीले सरोकारवाला निकाय, व्यक्ति तथा संस्थासँग प्रत्यक्ष छलफल गरी शिक्षा, स्वास्थ्य र खाद्य क्षेत्रमा भएका सवल तथा दुर्वल पक्षलाई केलाउँदै आगामी दिनमा उक्त तीन क्षेत्रलाई कसरी व्यवस्थित र प्रभावकारी ढंगले तिव्र गतिका साथ अघि बढाउन सकिन्छ ? भन्ने विषयमा सम्बन्धीत विषय विज्ञहरुसँग छलफललाई तिव्रता दिनुभएको हो ।
स्थानीय तहलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने मुख्य उद्देश्यका साथ शिक्षा, स्वास्थ्य मानिसको मैलिक हक तथा नैसर्गिक अधिकार भएको बताउँदै उहाँले मानिसको प्रत्यक्ष जीवनसँग जोडिएका कुराहरुलाई विशेष रुपमा ध्यान दिई आधुनीक प्रविधियुक्त तवरबाट अघि बढ्न सम्बन्धीत विषय विज्ञ तथा सरोकारवालासँगको छलफल तथा सहयोग अपरिहार्य रहेको बताउनुभयो । उहाँले विगतमा शिक्षा, स्वास्थ्य तथा खाद्य क्षेत्रमा बजेट के कति परेको ? त्यसबाट के कति उपलब्धी हासिल गरेको ? आगामी दिनमा के कति बजेट आवश्यक रहेको ? के कस्ता समस्याहरु रहेको ? आगामी दिनमा कसरी प्रभावकारी ढंगले अघि बढ्न सकिन्छ ? लगायतका कुराहरुको बारेमा सुझाव संकलनमा उहाँले देशकै लागि उदाहरणीय कार्यको शुभारम्भ गर्नुभएको छ ।
उक्त तीन क्षेत्रमा भएका समस्या र वर्तमान समयको आवश्यकता प्रमुख विषय भएको बताउँदै उहाँले आगामी दिनमा आफ्नो निर्वाचन क्षेत्रका सम्पूर्ण वडाहरुमा छलफल तथा अन्तरक्रिया सञ्चालन गरी सुझाव संकलन गर्ने बताउनुभयो । उहाँले कृषी, स्वास्थ्य तथा शिक्षा क्षेत्रको विकास र विस्तार गर्न के कति बजेटको आवश्यकता रहको छ ? भन्ने समेत सुझाव संकलन गर्नुभएको छ । उहाँले सोही सुझावलाई आधार बनाई आगामी दिनमा आफु अघि बढ्ने समेत जानकारी गराउनुभयो ।
इन्सेक गण्डकी प्रदेशका अध्यक्ष शिब कुइकेलको अध्यक्षता भएको कार्यक्रममा उहाँले शिक्षा, स्वास्थ्य तथा कृषीको आधुनिक तवरले विकास गर्न सके देशमा रोजगारीको सिर्जना हुने बताउँदै कृषीको माध्यमबाट लाखौं नेपाली आत्मनिर्भर हुने बताउनुभयो । उहाँले तीन वटै तहका सरकारले उक्त क्षेत्रमा आवश्यक बजेटको व्यवस्थापन गरी देशभरका सम्पूर्ण जनप्रतिनिधिहरुले जनता तथा सरोकारवाला व्यक्ति वा निकायसँग सुनुवाई गर्दै सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा अन्नपूर्ण गाउपालिकाका प्रशासकीय अधिकृत शेस नारायण पौडेल, शिक्षा प्रमुख बलराम हुमागाई, स्वास्थ्य प्रमख ऋशीराम पौडेल, कृषी निर्देशक शसी कुमार सिंह, वडा नं. १ का वडाध्यक्ष भरत जंग कुँवर, वडा नंं. २ का वडाध्यक्ष चुणामणी अधिकारी, कृषी ज्ञान केन्द्र कास्कीका प्रमुख कालिदास अधिकारी, स्वास्थ्य केन्द्रका प्रमुख लगायतले आ–आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्