ओखलढुङ्गा, १० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले युगकवि सिद्धिचरणसहितका सर्जकको योगदानले नेपालको दिगो विकास र ठूलाठूला परिवर्तनमा भूमिका खेलेको भन्दै उक्त योगदानको हामीले सम्मान गर्नुपर्ने बताउनुभयो ।
सिद्धिचरण नगरपालिका र सिद्धिचरण स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा भएको युगकवि सिद्धिचरण श्रेष्ठको १०८ औं जन्मजयन्तीका अवसरमा सिद्धिचरण नगरपालिका –१२ मा स्थापित उहाँको पूर्णकदको शालिक अनावरण तथा स्रष्टा उद्यानको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले स्रष्टाका सपनालाई सबै मिलेर साकार पार्नुपर्ने बताउनुभयो । उहाँले स्रष्टाको सिर्जनाले दशकौंँअघि देखाएका सपना साकार बनाउने दायित्व बर्तमान नेतृत्वको काँधमा रहेको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले कला, साहित्य र खेलकुदको विकासका लागि सरकारले नीतिगत पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा पुग्न सरकारले सबै क्षेत्र र वर्गलाई समेट्न सक्नुपर्ने पनि बताउनुभयो ।
राष्ट्रपति भण्डारीले स्थानीय समुदायलाई रोजगारी उपलब्ध गराउन उद्योगग्रामको अवधारणा ल्याउन तथा स्वच्छ नागरिक र अब्बल खेलाडी उत्पादन गर्न विद्यालय तहदेखि नै खेलकुदका कार्यक्रम गर्न सुझाव दिनुभयो । तीनै तहका सरकारको प्राथमिकतामा परे पर्यटन क्षेत्रको विकासले नेपाललाई समृद्ध बनाउने राष्ट्रपति भण्डारीको भनाइ थियो ।
राष्ट्रपतिले जलस्रोतको सदुपयोग, पर्यटन प्रवद्र्धन र रैथाने कृषि प्रणालीलाई आधुनिकीकरण गरेर समृद्धिको अभियानमा जुट्नुपर्ने धारणा राख्नुभयो । रुम्जाटार विमानस्थललाई पुनःसञ्चालन गराउन र निर्माणाधीन दोभास विमानस्थललाई वैकल्पिक मार्गका रुपमा विकास गर्न ध्यानाकर्षण गराउनुभयो ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले युगकविका सपना पूरा गर्नका लागि एकताबद्ध भएर विकासको अभियानमा जुट्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विकासका मुद्दा साझा बन्नुपर्दछ । स्रष्टाका सपना साकार हुनुपर्दछ । तब मात्रै युगकविको सम्मान गरेको मानिनेछ ।” आफ्नो पनि जन्मभूमि भएकाले ओखलढुङ्गाको विकासका लागि आफूले सक्दो पहल गर्ने आश्वासन उहाँले दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्