सम्पादकीय

शहिद गौतमको शवयात्रामा नेता अनुपस्थित



काठमाडौं, ३० फागुन । भारतीय सुरक्षाकर्मीले गोली हानी हत्या गरेका कञ्चनपुर पुनर्वासका गोविन्द गौतमको राष्ट्रिय सम्मानसाथ आइतबार अन्त्येष्टि गरिएको छ ।

कञ्चनपुरको दोदा नदीकिनारमा गौतमको पार्थिव शरीरमा उनका ७२ वर्षीय पिता खेमलालले दागबत्ती दिए ।

गोविन्द गौतमको शवयात्रामा ठूला नेता अनुपस्थित देखिए । ठूला पार्टीका नेता तथा सरकारका मन्त्री कोहीपनि शवयात्रामा सहभागी नभएपछि पुनर्वासका जनताले विरोध जनाएका छन् ।

पार्टीको मेची–महाकाली राष्ट्रिय जागरण अभियानका लागि टीकापुर पुगेका एमाले नेता भीम रावल, अत्तरियास्थित घरमै रहेका माओवादी केन्द्रका नेता लेखराज भट्ट पनि शवयात्रामा सहभागी भएनन् ।

कञ्चनपुर १ का सांसद दिवानसिंह विष्टले राष्ट्रिय झन्डा ओढाएर गौतमलाई श्रद्धाञ्जली दिए पनि अरु कुनै ठूला नेता नआएकोमा पीडितका आफन्त निराश थिए । कतिसम्म भने कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसमेत शवयात्रामा सहभागी भएनन् । अन्नपूर्ण पोस्टमा समाचार छ ।