काठमाडौँ, १२ जेठ । नेपाल विद्युत प्राधिकरणले अढाई वर्षमा नै ११ लाखभन्दा बढी मिटर वितरण गरेको छ ।
प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार साढे दुई वर्षको अवधिमा ६५ बाट ७८ प्रतिशतसम्म राष्ट्रिय प्रसारणलाइन पुगेको छ । यसैको बलमा प्राधिकरणले ग्राहकको संख्या आक्रामक रुपमा विस्तार गर्न सकेको बताएका छन ।
निर्देशक घिसिङले भने, ‘हामीले बिजुलीको पोल, ट्रान्सर्फमर र मिटरका आधारमा हुने राजनीति अन्त्य गर्न सकेका छौं । सर्वसाधारण जनतालाई पोल र ट्रान्सर्फमरका लागि अहिले नेताबाट फोन गराउनुपर्ने अवस्था छैन ।, ‘जनताले माग गर्नासाथ अवस्था हेरेर प्राधिरकणले आवश्यक व्यवस्था गर्छ ।’
३ वर्षअघिसम्म प्राधिरकणले वर्षमा मुस्किलले १ लाख मिटर वितरण गर्ने गरेको थियो । कुलमान घिसिङ प्राधिकरणको नेतृत्वमा आएपछि मिटर माग्नेहरुले पनि तुरुन्तै नपाउने अवस्था अब हटेको छ ।
प्राधिरकणले ग्रामीण विद्युतीकरणलाई प्राथमिकतामा राखेर लाइन नपुगेका क्षेत्रमा बिजुली सेवा पुर्याइरहेको छ । अढाई वर्षमा करिब १२ प्रतिशतले विद्युत सेवा विस्तार गर्न सफल भएको प्राधिरकणले अबको ४ वर्षमा देशका सबै सम्भाब्य भागहरुमा बिजुली पुर्याइसक्यो लक्ष्य लिएको थियो ।
समस्या भएको क्षेत्रमा पनि प्राथमिकताका साथ लाइन जाने समस्या हटाउन काम भइरहेको घिसिङले बताए । प्राधिकरणले हाल देशभर १ सय वटा सवस्टेशन निर्माण गर्दैछ । काठमाडौंको वितरणलाइन सुधार गर्ने गरी सुधारको काम पनि भइरहेको छ ।
विद्युत चुहावट नियन्त्रण, प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट आर्थिक वर्ष २०७३र७४मा प्राधिकरणले १ अर्ब ४६ करोड ७३ लाख रुपैयाँ खुद संस्थालाई नाफा कमाएको थियो । आर्थिक वर्ष २०७४र७५मा नाफा बढेर झण्डै ३ अर्ब पुगेको छ ।
प्राधिकरणको शेयर पूँजी १ खर्ब २ अर्ब ४४ करोड, दीर्घकालीन दायित्व १ खर्ब २० अर्ब ९५ करोड ४३ लाख र चालु दायित्व ८४ अर्ब ७७ करोड ८० लाख समेत कुल पुँजी तथा दायित्व २ खर्ब ८४ अर्ब ५७ करोड २१ लाख रुपैयाँ रहेको छ ।
अचल सम्पत्तितर्फ स्थिर सम्पत्ति १ खर्ब १२ अर्ब ९८ करोड, निर्माणाधीन सम्पत्ति ७७ अर्ब ६१ करोड तथा लगानी २९ अर्ब ९४ करोड समेत २ खर्ब २० अर्ब ५३ करोड ३० लाख र चालु सम्पत्ति ६४ अर्ब ३ करोड ८९ लाख रुपैयाँ रहेको छ । गत वर्ष १ अर्ब ४६ करोड ७३ लाख रहेकोमा यस वर्ष २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ रहेको छ ।










प्रतिक्रिया दिनुहोस्