भक्तपुर, १२ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको विकास र समृद्धिमा प्रेम सुवाल नआए पनि विकास नरोकिने बताउनुभयो ।
चाँगुनारायण नगरपालिका गेलाल गाउँदेखी ज्योलिङ्गेश्वर जाने सडक तथा जागृति चोकदेखी गेलाल गाउँ जाने दुई वटा सडकको शिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले जनप्रतिनिधि नभएको भनि चिन्ता लिनु नपर्ने बताउँदै भक्तपुर क्षेत्र नं. १ को सवै जनप्रतिनिधिको जिम्मा नेकपाले लिने बताउनुभयो ।
भक्तपुरको विकास र समृद्धिमा लाग्नुभएका सम्पूर्ण सरोकारवाला निकाय तथा जनतालाई एक ढिक्का भई ढुक्क भएर लाग्न आग्रह गर्दै भक्तपुरको विकासमा नेपाल मजदुर किसान पार्टीले हैन, इन्द्रेको बाउ चन्दै आए पनि रोक्न नसक्ने चेतावनी समेत दिनुभएको छ ।
पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले नेपाल मजदुर किसान पार्टी विकास विरोधी, भ्रष्टाचारी, घुसखोरी, सफाई अभियानको विरोधी तथा कमिसनको दलदलमा रहेको बताउनुभयो । उहाँले भक्तपुरमा निर्माणको प्रकृयामा रहेका राष्ट्रिय गौरवका आयोजनाहरु रंगशाला, स्मार्ट सिटी लगायतका राष्ट्रिय गौरवका आयोजना असफल बनाउन उद्धत रहेको साथै प्रदेश नं. ३ को राजधानी भक्तपुर ल्याउन नदिने घृणीत स्वार्थीय खेलमा लागेको भक्तपुरको एक मात्र पार्टी नेमकिपा भएको बताउनुभयो ।
नेमकिपाले राजनीतिक विरासत थाम्नको लागि भक्तपुरको विकासमा अवरोध पुर्याउने अनौतिक कार्य गरेको बताउँदै उहाँले भन्नुभयो, ‘भक्तपुरको समग्र विकास तथा तिव्र रुपमा निर्माणको क्रममा रहेको हनुमन्ते नदीको करिडोर निर्माण प्रकृया तत्काल बन्द गर्नुपर्छ भनि सडक तथा सदन आवाज उठाउन साथै निर्माण गर्नु पर्दैन भनि घोषणा गर्न बेर छैन । नेमकिपाले विकासको पहल गर्ने हैन, हुन लागेको विकास समेत विगार्ने उसको सिद्धान्त जस्तै भईसकेको छ ।’
नेमकिपा दक्षिणपन्थी धारमा नेमकिपा रहेको जो व्यक्तिगत तथा पार्टीगत स्वार्थमा डुवेको बताउँदै उहाँले नेमकिपालाई भक्तपुरको विकास भने पछि टाउको दुख्ने गरेको बताउनुभयो । उहाँले नेकपाले ठेगदारसँग संगत गर्यो भन्दै उफ्रने गरेको बताउँदै नेमकिपाको ठेगदारसँग संगत गर्ने हैसियत नै नभएको साथै आफ्नो क्षेत्रको सारा बजेट आफ्ना कार्यकर्तालाई बाँड्दा नै सिमित भएको, रकम हिनामिना गर्ने खेती नै भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेमकिपाले सूर्यविनायक, चाँगुनारायण तथा मध्यपुर थिमी नगरपालिकाको विकास निर्माण गर्ने पोलिसि सिकेर विकास गरोस्, त्यसको लागि आवश्यक परे भक्तपुर नगरपालिकामा नै आएर महेश बस्नेत तथा जनप्रतिनिधिहरु प्रशिक्षण दिन तयार छन् ।’
सवैको साथ र सहयोग नै विकासको हिसावले भक्तपुर देशकै उत्कृष्ट रहेको बताउँदै उहाँले सडकको विकास र विस्तारमा भक्तपुरले ऐतिहासिक ठूलो क्रान्ति नै गरेको बताउनुभयो । अरनीको राजमार्गको वैकल्पीक सडकका रुपमा सडकहरु विस्तार हुने क्रममा रहेको बताउँदै उहाँले उपत्यका विकास प्राधिकणले यो वर्षमात्र ३० करोडको रकम प्राप्त भएको जानकारी गराउनुभयो ।
आगामी वर्षमा यो भन्दा बढी विकासका कार्यक्रमहरु हुने बताउँदै उहाँले स्मार्ट सिटी, आधुनिक वीर अस्पताल, प्राणी उद्यान केन्द्र, रंगशाला, सभागृह, अरनिको राजमार्गलाई ६ लेनको बनाउने लगायतका कार्यहरु तिव्र गतिका साथ अघि बढेको बताउनुभयो । उहाँले मेलम्चीको पानी सपूर्ण भक्तपुरमा वितरण गर्ने गरी प्रयास भइरहेको समेत जानकारी गराउनुभयो ।
सांसद बस्नेतले मेलम्चीको विकल्पमा विभिन्न पाँच वटा ड्याम बनाउने प्रकृया अघि बढाएको बताउँदै आर्थिक समृद्धिको साथमा पर्यटनको विकास भक्तपुरको मुख्य योजना रहेको प्रष्ट पार्नुभयो । इको पार्क, जातीय संग्राहलय निर्माण गर्न मध्यपुर थिमी नगरपालिकामा शिलान्यास भएको जानकारी गराउँदै उहाँले सूर्यविनायक नगरपालिकामा ग्रामीण पर्यटनको गन्तव्य, होम इस्टे, इको भिलेज, प्याराग्लाइडिङ् लगायतका विकास गर्ने प्रकृया अघि बढेको जानकारी गराउनुभयो ।
भुकम्पका कारण भत्कीएका विद्यालय, मन्दिर तथा विभिन्न भौतिक संरचनामा भक्तपुरले तिव्र गतिका साथ अघि बढेको बताउँदै उहाँले भक्तपुरको विद्युतको तारलाई अण्डर ग्राउण्ड बनाउने योजना समेत अघि बढेको जानकारी गराउनुभयो ।










प्रतिक्रिया दिनुहोस्