राजनीति

उपराष्ट्रपति पुन अष्ट्रिया प्रस्थान



काठमाडौँ, १२ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रियाको साताव्यापी भ्रमणका लागि प्रस्थान गर्नुभएको छ ।

आइतबार बिहान युरोपेली मुलुक अष्ट्रिया प्रस्थान गर्नु भएको हो । अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा भियनामा यही जेठ १४ गते आयोजना हुने जलवायुसम्बन्धी आर–२० विश्व शिखर सम्मेलनमा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

उपराष्ट्रपति पुन जेठ १४ गते आर–२० विश्व शिखर सम्मेलनमा सहभागी हुनु भई नेपालको धारणा राख्नुहुनेछ । भ्रमणको क्रममा उहाँले अष्ट्रियाका राष्ट्रपति बेलेनसँग शिष्टाचार भेट गर्नुहुनेछ । उपराष्ट्रपति पुन भियना अन्तर्राष्ट्रिय केन्द्रको ४०औँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजना हुने कार्यक्रममा समेत सहभागी हुनु हुनेछ ।

अष्ट्रियामा रहँदा उपराष्ट्रपति अष्ट्रियास्थित नेपाली राजदूतावासले अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजना गर्ने कार्यक्रममा समेत सहभागी हुनु हुनेछ । भ्रमण सम्पन्न गरी उहाँ यही जेठ १८ गते स्वदेश फर्कनु हुने कार्यक्रम रहेको छ ।