काठमाडौँ, १३ जेठ । सजाय तोकिएका अभियुक्तले कैद भुक्तानका लागि अदालतमा आत्मसमर्पण गरेमा २० प्रतिशत मिनाहा हुने भएको छ ।
सर्वोच्च अदालतका तीनजना न्यायाधीश संलग्न पूर्ण इजलासको यो फैसलासँगै कैद तथा जरिवाना मिनाहामा लामो समयदेखिको दुविधासँगै प्रशासनिक झन्झट समेत अन्त्य भएको छ । तर यो सुविधा मुलुकी फौजदारी संहिता र देवानी संहिता लागू हुनुपूर्व गत भदौ १ गतेअघि दर्ता भएका फौजदारी मुद्दाका प्रतिवादीले मात्र पाउनेछन् । यो नजिरले अन्तिम फैसला कुरिरहेका मुलुकभर जेलमा रहेका सयौंको संख्यामा रहेका कैदीबन्दीलाई राहत दिनेछ ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा डिल्लीबजार सदरखोरमा कैद भोगिरहेका वसन्त रावलले दिएको निवेदनमा बिहीबार यस्तो फैसला भएको थियो । उनलाई सर्वोच्च अदालतबाट गत वैशाख ४ गते तीन वर्ष ६ महिना जेल सजाय तोकिएको थियो । रावलले वैशाख २३ गते सर्वोच्चमा उपस्थित भएर २० प्रतिशत कैद मिनाहाको मागसहित निवेदन दिए । तर सहरजिस्ट्रार नेत्रप्रसाद आचार्यले नयाँ संहिताले सजाय मिनाहाको व्यवस्था नराखेको भन्दै निवेदन खारेजीको प्रशासनिक निर्णय दिएपछि रावलले वैशाख ३० गते अर्को निवेदन दिए ।
२०७५ भदौ १ गतेदेखि नयाँ संहिता आएपछि पुरानो कानुनका आधारमा सजाय मिनाहा हुने वा नहुने भन्नेमा विवाद खडा भएपछि सर्वोच्चले सहयोगीका रुपमा नेपाल बार र सर्वोच्च अदालत बारबाट ‘एमिकस क्युरी’ का रुपमा एकएक जना वरिष्ठ अधिवक्तासमेत झिकाएको थियो । याे खबर आजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्