Banner News

बम पड्काउने आतंककारीलाई प्रधानमन्त्री ओलीको प्रश्न : माग के हो ?



ललितपुर, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले बम पड्काउने आतंककारी समूहलाई प्रश्न गरेका छन ।

सोमबार राष्ट्रिय मानवअधिकार आयोगको १९ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई विकास हुन नदिने तत्वहरु अहिले पनि सक्रिय भैरहेको बताएका छन ।

प्रधानमन्त्री ओलीले सिलिण्डर बम हानेर आतंकित पार्ने र लुटपाटका लागि क्रान्तिको नाम लिने यो मानव अधिकारका लागि खतरनाक पक्ष भएको बताउदै उनले भने, ‘हिजो बम पड्काउने आतंककारी समूहलाई सोध्न चाहन्छु, माग के हो ?’  ‘अब के चाहियो ?’

प्रधानमन्त्री ओलीले सरकारले प्रेस स्वतन्त्रतामा शतप्रतिशत ग्यारेन्टी गर्ने र संविधानमै रहेको प्रेस स्वतन्त्रताको व्यवस्थालाई सरकारले सम्मान गर्नेबताउदै उनले भने,  ‘प्रेस स्वतन्त्रताको सम्बन्धमा संविधानले व्यवस्था गरेभन्दा सरकार एक अक्षर पनि तलमाथि गर्दैन ।’

पत्रकारितामा कतिपय विसंगतिहरु देखिएको भन्दै सुधारको आवश्यकता रहेको बताउदै उनले भने,  ‘समाचार सत्यमा आधारित हुनुपर्छ, कसैलाई व्यक्तिगत रुपमा रिस उठेको भरमा सभ्यताको सीमा नाघ्न मिल्दैन, ‘सभ्य ढंगले समाचार प्रस्तुत गर्नका लागि नेपाली भाषामा शब्दको भण्डार छ ।’