काठमाडौँ, १६ जेठ । पाल्पा दरबार सङ्ग्रहालयको औपचारिक उद्घाटन गरिएको छ ।
प्रदेश नं ५ का सांसद तुलाराम घर्तीले सङ्ग्रहालय सञ्चालनको करिब चार वर्षपछि औपचारिक उद्घाटन गरेका हुन् । उदघाटन समारोहमा सांसद घर्तीले पाल्पा दरबार सङ्ग्रहालय प्रदेशस्तरीय सङ्ग्रहालय रहेकाले सरकारको सहयोग रहने बताए ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्याल, सामाजिक विकास मन्त्रालय प्रदेश नं ५ का सचिव कृष्णप्रसाद ज्ञवाली, पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याल, बुद्धिजीवी निर्मल श्रेष्ठलगायतले सङ्ग्रहालयको प्रभावकारी व्यवस्थापन र निगरानी आवश्यक रहेको बताए ।
सङ्ग्रहालय प्रवेशमा प्रतिविद्यार्थी रु ५, स्वदेशी नागरिकलाई रु १५, सार्क देशका नागरिकका लागि रु ५० र अन्य विदेशी नागरिकका लागि रु १०० लाग्नेछ । क्यामेरा शुल्क नेपालीका लागि रु २५, सार्कका लागि रु ५० र अन्य देशका नागरिकका लागि रु १०० कायम गरिएको छ ।
तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले पर्यटक आकर्षणका लागि पाल्पा दरबार सङ्ग्रहालय सफल हुने बताए । बुधबारदेखि आइतबारसम्म बिहान १० बजेदेखि ४ः३० सम्म र सोमबार बिहान १० बजेदेखि २ः३० सम्म सङ्ग्रहालय खुला रहनेछ । मङ्गलबार भने बन्द रहने तानसेन नगरपालिका अधिकृत भरत आचार्यले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्