सम्पादकीय

आफ्नालाई जागिर खुवाउने काइदा : पद, परीक्षा र हल उहीँ तर प्रश्नपत्र फरक !



पद उही । परीक्षा उही । हल उही । तर, प्रश्नपत्र फरक । यस्तो कहाँ हुन्छ ? अन्यत्र नभए पनि नेपाल रेडक्रसमा हुँदो रहेछ । रेडक्रसले परीक्षा लिएर छैटौं तह लेखा अधिकृत नियुक्ति गरेको एक वर्ष हुन लाग्यो । आफ्ना मान्छे पास गराउन त्यो परीक्षामा भएको बेइमानी भने बल्ल खुलेको छ । त्यसमा उही हलमा बसेका परीक्षार्थीलाई फरक प्रश्नपत्र दिइएको पाइएको छ ।

एउटा २० अंकको बाहेक अरू प्रश्न भने दुवैमा मिल्छन् । द्वितीय पत्रको नेपाली खण्डको १ नम्बरमा एउटा प्रश्नपत्रमा आन्तरिक लेखा परीक्षणबारे प्रश्न छ । अर्कोमा अन्तर्राष्ट्रिय व्यापारबारे ।

प्रश्न फरक बन्नुको प्रकरण भने गम्भीर छ । छैटौं तहको लेखा र प्रशासनको परीक्षा उही दिन उही समय (२०७५ असार २ गते बिहान ८ बजेदेखि) भएको थियो । प्रशासनको एक प्रतिस्पर्धीलाई लेखा समूहको, त्यो पनि फरक प्रश्न दिइयो । उनको परीक्षा बिग्रियो  । उनलाई षड्यन्त्रपूर्वक असफल गराएर सफल बनाइयो तत्कालीन अध्यक्ष सञ्जीव थापाकी भतिजी प्रतीक्षा थापालाई। उनी सञ्जीवका कान्छा भाइ राजीवकी छोरी हुन् । राजीव उदयपुरमा रेडक्रस उपशाखाका सभापति छन् । ती परीक्षार्थीलाई प्रशासनकै प्रश्न परेको भए थापाले सम्भवतः पास गर्ने थिइनन् । याे खबर आजकाे अन्नपूर्ण पाेष्टमा छ ।