राजनीति

सुर्तीजन्य पदार्थको जनचेतना नै नियन्त्रणको सबैभन्दा राम्रो माध्यम : मन्त्री यादव



काठमाडौँ, १७ जेठ । उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सुर्तीजन्य पदार्थको जनचेतना नै नियन्त्रणको सबैभन्दा राम्रो माध्यम रहेको बताएका छन ।

शुक्रबार काठमाडौँमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा विश्व धूमपान दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले सुर्तीजन्य पदार्थ सेवन गर्न कानूनले निषेध गर्नेभन्दा यसले पार्ने असरका बारेमा जनचेतना जगाई नियन्त्रण गर्न आवश्यक रहेको बताए ।

उनले भने, “सरकारले बर्सेनि सुर्तीजन्य पदार्थमा करका दायरा वृद्धि गरिरहेको छ । नियन्त्रणका लागि कानून कार्यान्वयन गरिरहेको छ । सेवनकर्ता कम नभएको तथ्याङ्क आएका छन् । जनचेतना नै नियन्त्रणको सबैभन्दा राम्रो माध्यम हुन्छ ।”

उपप्रधानमन्त्री यादवले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्नेसम्बन्धी ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयनमा मन्त्रालयले उच्च प्राथमिकता दिने बताएका छन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल जनसङ्ख्याको ३० प्रतिशत मानिस सुर्तीजन्य पदार्थ प्रयोग गर्दछन् । यसको ५० प्रतिशत त पुरुष रहेका छन् । तीमध्ये १५ देखि १९ वर्ष समूहका किशोरकिशोरी धूमपान गर्दछन् ।

सुर्तीजन्य पदार्थ सेवनले निम्त्याउने रोगका कारण बर्सेनि नेपालमा २५ हजारको अकालमा मृत्यु हुने गर्दछ । यो सङ्ख्या बर्सेनि वृद्धि भइराखेको मन्त्रालयले जनाएको छ ।