काठमाडौँ, १८ जेठ । सभामुख कृष्णबहादुर महराले नेपालको सङ्घीयता आफ्नै मौलिकतामा आधारित रहेको बताएका छन ।
आज राजधानीमा ‘सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को अन्तरवस्तुबारे आयोजित प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदसँगको अन्तरक्रियामा बोल्दै सभामुख महराले सानो देश भए पनि बहुभाषिक, बहुजातीय, बहुधार्मिक विशेषता भएको मुलुकका हरेक विषयमा त्यहीअनुरुप सम्बोधन गर्नुपर्ने संविधानको मर्म रहेको बताउर्दै नेपालको सङ्घीयता आफ्नै मौलिकतामा आधारित रहेको बताए ।
सभामुख महराले हरेक गतिविधि सञ्चालनमा संविधानको मर्मअनुसार अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् । सङ्घ, प्रदेश र स्थानीय तहमा उत्पन्न हुनसक्ने विमतिलाई पनि सोही अनुरुप हल गर्नुपर्ने बताए ।
उनले भने, ‘नीतिगत रुपमा केन्द्रीय सरकार जवाफदेही हुने, योजनागत पक्षमा अली बढी प्रदेश सरकार केन्द्रित हुने र कार्यक्रम कार्यान्वयनमा स्थानीय तह केन्द्रित हुने भन्ने ‘स्पिरिट’मा संविधान निर्माण भएको हो, कुनै देशको नक्कल गर्नुभन्दा आफ्नै मौलिकता र विशेषतामा सङ्घीयता ल्याएका हौंँ, संविधानको मर्म पनि त्यही हो ।’
सभामुख महराले संविधानमा तीन तहको अधिकारका विषयलाई केही नीतिगत रुपमा सम्बोधन गरिएपनि अझै ठोस रुपमा आउन बाँकी रहेकाले विधेयकलाई गम्भिरतापूर्वक छलफल गरी निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए ।










प्रतिक्रिया दिनुहोस्