समाचार

जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु



रसुवा, २१ जेठ । रसुवास्थित मैलुङ–स्याफ्रुबेसी सडक खण्डमा टाटा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

सोमबार साँझ पोखराबाट रसुवाको गोल्जुङतर्फ आउँदै गरेको बा १० च ५८२० नं को टाटासुमो मैलुङ–स्याँफ्रुबँशी सडकखण्डको कालिका र गोशाइँकुण्ड गाउँपालिकाको सीमानामा पर्ने गुम्चेतमा दुर्घटना हुदा आमा–छोदिङ्बो गाउँपालिका वडा नं ४ गोल्जुङका ३४ वर्षीया मेन्दो घले, ३२ वर्षीया साइली घले र २९ वर्षीय नुर्बु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय, रसुवाले पुष्टि गरेको छ ।

यस्तै तीन जना अझै हराइरहेका छन् भने पाँच गम्भीर घाइते छन् । गम्भीर घाइतेमा चालक आमाछोदिङ्मो गाउँपालिका–४ का ३२ वर्षीय निमा तामाङ, ३५ वर्षीया जौरानी घले, २९ वर्षीय योङजुङ तामाङ, पाँच वर्षीया फुर्वु याङजेन तामाङ र तीन वर्षीय निम छेवाङ तामाङ रहेका छन् ।

उनीहरुलाई उपचारका लागि काठमाडौं लगिएको त्रिशुली अस्पतालले जनाएको छ । आमाछोदिङ्मो–४ का ४८ वर्षीय पासाङदे घले, १९ वर्षीया कामी याङ्जेन घले र २० वर्षीया लेताङ घले हराइरहेको प्रहरीले जनाएको छ । उनीहरुको नदीमा डुबेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

दुर्घटनाग्रस्त जिप सडकबाट १ सय मिटर तल नदीमा खसेर डुबेको छ ।  उक्त दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।