राजनीति

कम्पनीमा दर्ता नहुने यातायात व्यवसायीको रुट परमिट खारेज हुन्छ : मन्त्री महासेठ



काठमाडौँ, २३ जेठ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कम्पनीमा दर्ता नहुने यातायात व्यवासयीको रुट परमिट खारेज हुने बताउनुभएको छ ।

ठूला यातायात समितिहरु अहिले कम्पनीमा आइसकेको बताउँदै मन्त्री महासेठले कम्पनीमा दर्ता हुने आउन नचाहनेहरुलाई अब कारबाही गर्नुको कुनै विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले कम्पनीमा दर्ता हुने समय सकिसकेको र दर्ता भएकाहरुको अन्य प्रक्रियागत कार्यहरु भइरहेको छ’, उहाँले भन्नुभयो, ‘अन्तिम म्याद नाघ्दासम्म पनि कम्पनीमा नआएका यातायातको रुट परमिट खारेज गरिने र थप कारबाही अघि बढाइने छ ।’

विभिन्न १५० समितिमा रहेका १ हजार ६ सय ७४ व्यवसायी कम्पनीमा दर्ता भएका छन् । सरकारले सिण्डिकेट अन्त्य गर्नुभन्दा पहिले ६ सय ४०, सिण्डिकेट अन्त्यको घोषणापछि ९ सय १८ र गएको फागुनमा ऐन संशोधन भएपछि जेठ १९ गतेसम्म ११६ यातायात कम्पनीमा दर्ता भएका छन् ।

सरकारले सबै यातायात व्यवसायीलाई कम्पनीमा दर्ता हुन तीनपटक समय थपे पनि केहीले अझै अटेर गरेका छन् । अहिलेसम्म १ हजार ६७४ व्यवसायी मात्र कम्पनीमा दर्ता भएका छन् । यातायात व्यवसायीका विभिन्न संघ र संस्था मिलेर बनेका समितिको संख्या झण्डै ३ सय रहेकोमा १५० समिति मात्र कम्पनीमा गएका छन् ।