काठमाडौँ, २५ जेठ । खानेपानी मन्त्री विना मगरले आउँदो आर्थिक वर्षमा नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने तयारीका तिव्र गतिका साथ मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ ।
नेपाल नगरपालिका संघले शनिबार काठमाडौँको बसन्तपुर दरबार स्वायरमा आयोजना गरेको खानेपानी तथा सरसफाइ मेलाको उद्घाटन गर्दै मन्त्री मगरले आउँदो आर्थिक वर्षमा ९२ प्रतिशत र तीन वर्षभित्र शत प्रतिशत जनसंख्यालाई खानेपानी सेवा पुर्याउने लक्ष्य रहे पनि सबैसँगको सहकार्यमा मात्र लक्ष्य पूरा गर्न सकिने बताउनुभयो ।
हरेक गाउँ बस्ती र सहर बजारका जनतालाई तीन वर्षभित्र शत प्रतिशत आधारभूत स्तरको खानेपानी सेवा पुर्याउन संकल्प लिएर मन्त्रालय अघि बढेको उहाँले बताउनुभयो । मन्त्री मगरले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरेर शत प्रतिशत जनतालाई आधारभूतस्तरको खानेपानीको सुनिश्चितता गर्न दृढ संकल्पका साथ अघि बढेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘एकातिर सबै जनतालाई खानेपानी पुर्याउनुपर्ने चुनौती छ भने अर्कोतिर पूर्ण सरसफाइको कार्यक्रमलाई पनि सँगै अगाडि लैजानुपर्नेछ । खानेपानी र सरसफाइलाई अलग राखेर समृद्ध नेपालको अभियान पूरा हुन सक्दैन । बढ्दो जनसंख्या र शहरीकरणका कारण हाम्रो वातावरण दिनदिनै दूषित हुँदै गइरहेको छ । सरसफाइ अभियानलाई पनि हामीले उत्तिकै प्राथमिकता दिएर अगाडि बढाउँदैछौँ ।’
कार्यक्रममा मन्त्री मगरले ‘हामी दिसाजन्य लेदो व्यवस्थापन गर्न प्रतिबद्ध छौं, तपाइँ निरु’ भन्ने अभियानलाई साथ दिंदै हस्ताक्षर गर्नुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्