राजनीति

नेपाल कृषिमा आत्मनिर्भर हुन्छ, सोही अनुसार जनमूखी कार्यक्रम आउँँछ : मन्त्री खनाल



काठमाडौँ, २७ जेठ । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले नेपाल कृषिमा आत्मनिर्भर हुने अनेकौं सम्भावनाहरु रहेकाले सोही सम्भावनालाई व्यवहारिकतामा लागु गर्दै जनमूखी कार्यक्रम ल्याउने तयारी भइरहेको जानकारी गराउनुभएको छ ।

आइतबार काठमाडौँमा आयोजित एक साक्षात्कारमा मन्त्री खनालले अहिले कुल बजेटको १.८ प्रतिशतमात्रै कृषिमा बजेट छुट्याइएको सुनाउनुहुँदै भएको बजेटलाई कार्यान्वयन गर्नेतर्फ आफू सचेत रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी केही चिनिएका कृषि उत्पादनहरु जस्तो माछा, खसी–बोका र दुद्यमा निकट भविष्यमा आत्मनिर्भर हुन्छौं । सोहीअनुसार हामीले कार्यक्रम अघि सारेका छौं । यसपटकको बजेटमा पर्याप्त बजेट छुट्याईएको छ ।’

कृषिमा कम बजेट छुट्याईएकोमा असन्तुष्टि जनाउनुहुँदै नेपाललाई कृषिलाई व्यवसायीकरण बनाउनका लागि कम्तिमा कुल बजेटको पाँच प्रतिशत छुट्याउनुपर्ने स्पष्ट पार्नुभएको छ । उहाँले भन्नुभयो, ‘किसानको वर्गीकरण गर्दा किसानको पहिचान हुन्छ । यसो गर्न सकियो भने उहाँहरुको समस्यापनि त्यहीअनुसार सुन्न पाइन्छ ।’

किसानले मल नपाएको सन्दर्भमा टिप्पणी गर्नुहुँदै उहाँले भन्नुभयो, ‘मलको अभाव हुने गरेको छ । किसानको मागलाई अनुदानमा पुर्ति गर्ने अवस्था छैन । युरियामा समस्या छैन ।’ उहाँले आगामी दुई वर्षभित्र सञ्चालनमा ल्याउनेगरी मलको ब्लेण्डिङ कारखाना खोल्न लागिएको पनि सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘यसको लागि हामीले १५ करोडको प्रस्ताव गरिएको छ ।’ युएसटी र धुलो दुधको फ्याक्ट्री पनि खोल्न लागिएको उहाँले जनाउनुभयो ।