Banner News

सरकारी कार्यालयमा दलाल सल्बलाए, यसलाई निमिट्यान्न पार्नुपर्छ : महानिरीक्षक खनाल



काठमाडौँ, ३२ जेठ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी, सरकारी वकिल कार्यालय तथा अन्य सरकारी कार्यालयमा प्रभाव जमाउन केही दलाल सल्बलाएको बताएको बताउँदै आगामी दिनमा यस्ता दलाललाई निमट्यान्न पार्नुपर्नेमा जोठ दिनुभएको छ ।

शुक्रबारदेखि काठमाडौँमा सुरु भएको अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको दोस्रो प्रादेशिक सम्मेलनलाई सम्बोधन गर्दै महानिरिक्षक खनालले दलाल निमट्यान्न पार्न नेपाल प्रहरीको तर्फबाट खेल्नुपर्ने जस्तोसुकै भूमीका निर्वाह गर्न बाध्य हुने बताउँदै भन्नुभयो, ‘नेपाल प्रहरीमा मात्र होइन, सरकारी वकिलदेखि अन्य सरकारी कार्यालयमा केही दलाल प्रभाव जमाउन सलबलाएका छन्, यिनलाई निमिट्यान्न पार्नुपर्छ । नेपाल प्रहरीले आफ्नो तर्फबाट गर्नुपर्ने कामहरु गर्छ ।’

उहाँले नेपालको सुरक्षा निकायको व्यवसायिकता शंका नगर्न पनि आग्रह गर्दै प्रहरीले इन्टेलिजेन्स र इभिडेन्स बेस्ड पुलिसिङमा नचुक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘चाहे राष्ट्रिय होस् वा अन्तर्राष्ट्रिय स्तरमा हामीले एउटा सन्देश के दिएका छौं भने नेपाल प्रहरी पूर्ण रुपमा व्यवासायिक छ, दक्षिण एसियाली कार्यक्रम होस् या यूएन र इन्टरपोलको कार्यक्रम नै किन नहोस्, यो कुरा स्पष्टसँग राखेका छौं ।’

महानिरिक्षक खनालले ९५ प्रतिशतभन्दा बढी मुद्दामा सफल अनुसन्धान भएको उल्लेख गर्दै एकाध घटनाले सिंगो संगठनको छवि धुमिलिएको दाबी गर्नुभयो ।