काठमाडौँ, १ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गुठीलाई व्यवस्थित गरी हाम्रो भावी पुस्तालाई सुरक्षित गर्नु पर्ने बताएका छन ।
शनिबार काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ सिपाघाटमा टेलिफोन (पीएसटीएन) एक्सचेञ्ज उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले राष्ट्रियसभामा पेश गर्नुअघि हरेक विधेयकका विषयमा हुने नकारात्मक टिप्पणी राम्रो पक्ष नभएको बताएका छन् ।
जनतालाई गुठीको समस्यामा अल्झाइरहनु नहुने बताउदै उनले भने, जनतालाई सधैँ यथास्थितिमा रिङ्ग्याइरहनु हुँदैन, गुठीलाई व्यवस्थित गरी हाम्रो भावी पुस्तालाई सुरक्षित गर्नुपर्छ । ‘यहाँ त विधेयक लैजानुभन्दा अघि ‘पुल्ठो’ झोसिन्छ, पुल्ठो झोसेछि नकारात्मक टिप्पणी फैलिन्छ, जसका कारण समस्या समाधान गर्न कठिन हुन्छ, विषयको चुरोमा जानुभन्दाअघि भ्रामक रुपमा उत्तेजना फैलाउनु राम्रो होइन ।’
मन्त्री बाँस्कोटाले राष्ट्रियसभामा पेश भएको गुठी विधेयक संस्कृति, रीतिरिवाज, धर्म र सामाजिक व्यवहार तथा उत्पादन, स्वामित्व र किसानका अधिकारसँग जोडिएको दुई प्रकृतिका दुई पृथक ढङ्गले छलफलमा लगिने बताउदै उनले भने, ‘संविधानमा नागरिकको मौलिक हक स्थापित छ, भूमिहीनलाई घरबासका लागि जमीन दिने भन्ने संविधान भने बनाउने, अनि भएको सम्पत्ति रोकेर उनीहरुलाई बास नबसाउने ?’
गुठी विधेयक ल्याउनै नपर्ने, छलफल नै हुनुनपर्ने भन्नेहरु विषयप्रति प्रष्ट नभएकाले एकोहोरो विरोध गरेको दाबी गर्दै उनले भने, ‘न्यून कर तिरेर खाइरहेकाको टाउको दुखेको हुनुपर्छ, आफूले खाएको भाग खोसिएला भनेर अत्तालिएका हुन् ।










प्रतिक्रिया दिनुहोस्