समाचार

नक्कली प्रमाणपत्र बनाउने दुई जना पक्राउ



भरतपुर, ६ असार । विद्यालय तथा क्याम्पसको नक्कली शैक्षिक तथा चारित्रिक प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

 नक्कली लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्र बनाउने गरेको सूचनाका आधारमा भरतपुर महानगरपालिका-६ बस्ने १९ वर्षीय बेदप्रसाद पराजुली र ३३ वर्षीय सुदीप पौडेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई भरतपुर महानगरपालिका-७ बुद्धचोकमा सञ्चालन गरेको विन्दु फोटो एण्ड भिडियो पसलबाट पक्राउ गरिएको  हो ।

नक्कली प्रमाणपत्र बनाउन प्रयोग गरिने एक थान कम्प्युटर र तीन थान प्रिन्टरसमेत प्रहरीले बरामद गरेको छ ।  पक्राउ परेका दुवै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ लिखितसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।