Banner News

आलोचना गर्ने अधिकारलाई कसैले पनि कुण्ठित गर्न सक्दैन, लोकतन्त्रले छुट दिन्छ : मन्त्री बाँस्कोटा



काठमाडौँ, ७ असार । सूचना तथा सञ्चार प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले लोकतन्त्रमा कुनै पनि नागरिकलाई आलोचना गर्ने अधिकारलाई कसैले कुण्ठित गर्न नसक्ने बताउँदै लोकतन्त्रले सवै प्रकारको स्वच्छ आलोचना गर्न छुट दिने ठोकुवा गर्नुभएको छ ।

शुक्रबार सिंहदरबारमा विकास तथा प्रविधि समितिको बैठकमा सूचना तथा सञ्चार प्रविधिमन्त्री बास्कोटाले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी छलफलमा मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘आलोचना गर्ने अधिकारलाई कसैले पनि कुण्ठित गर्न सक्दैन । आलोचना गर्ने कुरालाई त लोकतन्त्रले छुट दिन्छ–दिन्छ । मैले यो किन भन्दैछु भने, हामीले रोजेको व्यवस्था नै बहुदलीय हो । हाम्रो समाज नै बहुलवादी छ । हाम्रो सोच नै बहुलवादी छन् । हाम्रो संस्कृति बहुलवादी छ । हाम्रो भूगोल नै बहुलवादी छ । जब यो सबै कुरा छ भने त्यसमा बन्देज लगाउन सरकारले चाहेर मात्रै सक्छ र १’

उहाँले व्यक्ति–व्यक्तिको सञ्चार हुँदा, व्यक्ति व्यक्तिका बीचमा हुने बहस, आलोचना वा हैरानी बनाउने वा जिस्क्याउने वा अपमान गर्नेखालका कुराहरु, तर्साउने, धम्क्याउने कुराहरु छन् भने त्यो व्यक्ति व्यक्तिको अधिकारको प्रयोगको अधिकारको प्रयोगरअधिकारको दुरुपयोग भयो भने, दुरुपयोग हुँदा प्रतिवाद गर्न पाउने, कानुनी प्रतिवाद गर्न पाउने अधिकारलाई सुनिश्चित गर्नुपर्ने र सोही हिसावले सोच्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कोही यहीँ भएको माननीयज्यूले केही बोल्नुभयो भने जथाभावी नै लेखिएको हुन्छ । त्यो राम्रो होइन । त्यसैले यस्तो कुरालाई अभिव्यक्ति स्वतन्त्रता भनेर भन्नुहुँदैन । अभिव्यक्ति, आलोचना र गालीगलौजमा भिन्नता छ भन्ने बुझ्नुपर्छ ।’