सम्पादकीय

भारतलाई विद्युत् बेचेर वार्षिक साढे १० खर्ब आम्दानी



काठमाडौं, ७ माघ । नेपालले आगामी २७ वर्षमा भारतसँगको विद्युत् व्यापारबाट बर्सेनि साढे १० खर्ब आम्दानी गर्नसक्ने एक अध्ययनले देखाएको छ ।

सन् २०४५ सम्ममा नेपालले भारतसँग द्रुत विद्युत् व्यापार गर्नसके १० खर्ब ६९ अर्ब रुपैयाँ बराबरको आम्दानी गर्नसक्ने प्रक्षेपण गरिएको छ ।

अमेरिकी सहयोग नियोग (यूएसएड) को आर्थिक सहयोगमा दक्षिण एसिया क्षेत्रीय ऊर्जा एकीकरण पहल (सारी÷ईआई) कार्यक्रमअन्तर्गत इन्टिग्रेटेड रिसर्च एण्ड एक्सन फर डेलभमेन्ट (इराडे) ले तयार पारेको नेपाल र भारतबीचको विद्युत् व्यापारबाट हुने अर्थिक लाभसम्बन्धि विश्लेषणात्मक प्रतिवेदनमा यस्तो प्रक्षेपण गरिएको हो ।

नेपालले हाल भारतबाट दैनिक ३ सय ५२ मेगावाट आयात गरिरहेको छ भने आयातीत बिजुलीका लागि बर्सेनि २० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गरिरहेको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य डा.स्वर्णिम वाग्लेलगायत अमेरिकी र भारतीय राजदूतावासका  उच्च अधिकारीले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा रहेको जलविद्युत् उत्पादनको क्षमतालाई उपयोग गर्न सके मुलुकको जीडीपी १ सय ३१ खर्ब रुपैयाँ पुग्ने उल्लेख छ ।

हाल नेपालको जीडीपी २२ खर्ब ४८ अर्ब रुपैयाँ छ । इराडेका सभापति डा. किरित पारिखले विद्युत् निर्यातबाट नेपालले    सन् २०२५ सम्ममा ४४ अर्ब, २०३० सम्ममा ३ खर्ब १० अर्ब, २०३५ सम्ममा ५ खर्ब ६५ अर्ब र  २०४० सम्ममा ८ खर्ब ४० अर्ब रुपैयाँ आम्दानी गर्नसक्ने अध्ययनले देखाएको जानकारी दिए ।

प्रतिवेदनअनुसार, २०२५ सम्ममा १८ बिलियन किलोवाट आवर, २०३० सम्ममा ९३ बिलियन किलोवाट आवर र २०४० सम्ममा १ सय १५ टेरावाट आवर विद्युत् निर्यात हुनेछ । २०४५ सम्ममा मुलुकको विद्युत् उत्पादन क्षमता ३४.४ गिगावाट पुग्ने प्रक्षेपण प्रतिवेदनमा गरिएको छ ।

हाल नेपालको विद्युत् उत्पादन क्षमता ०.८७ गिगावाट अर्थात ८ सय ७० मेगावाटको हाराहारीमा भए पनि २०२० सम्ममा १.८ गिगावाट, २०२५ सम्ममा १०.६ गिगावाट, २०३० सम्ममा १८.९ गिगावाट, २०३५ सम्ममा २४.४ गिगावाट र २०४० सम्ममा २९.४ गिगावाट पुग्ने प्रतिवेदनमा उल्लेख रहेको कारोबारमा समाचार छ ।