सम्पादकीय

एसएलसीको सट्टा पहिलो पटक आजदेखि एसइई



काठमाडौं, ३ चैत । विद्यालय तहको संरचना परिवर्तन भएपछि शिक्षा मन्त्रालयले पहिलो पटक बिहीबारदेखि सेकेण्डरी एजुकेसन इक्जामिनेसन (एसइई) को नामबाट कक्षा दशको परीक्षा सञ्चालन गर्न लागेको छ ।

विगतका वर्षहरुमा सञ्चालन हुँदै आएको प्रवेशिका (एसएलसी) परीक्षाको परिवर्तित नाममा एसइई सञ्चालन हुन लागेको हो। गत वर्षसम्म सञ्चालन हुँदै आएको एसएलसी र बिहीबारदेखि सञ्चालन हुन लागेको एसइइको नाम भिन्न रहेपनि परीक्षाको प्रकृति भने एकै प्रकारको रहनेछ ।

विगतमा एसएलसीलाई विद्यालय शिक्षाको अन्तिम खुड्किलो मानिन्थ्यो । अहिले एसइइलाई कक्षा दशको अन्तिम परीक्षाको रुपमा मात्र मानिएको छ । विगतका वर्षहरुमा सञ्चालन हुँदै आएको विद्यालय शिक्षाको अन्तिम परीक्षा भने अब कक्षा १२ को अन्त्यमा मात्र सञ्चालन हुनेछ । जसलाई शिक्षा मन्त्रालयले एसएलसी नामाकरण गरिसकेको छ ।

दश महिनाअघि संशोधन भएको शिक्षा ऐनले कक्षा दशसम्म मात्र रहेको विद्यालय शिक्षाको संरचना परिवर्तन गरेर कक्षा १२ सम्म पु¥याएको थियो । यही व्यवस्थाको आधारमा एसएलसी परीक्षा १२ को अन्त्यमा हुन लागेको हो ।

संशोधित ऐनले कक्षा १ देखि ८ सम्मलाई आधारभूत र कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक तहको शिक्षाको परिभाषा दिएको छ । ऐन संशोधन हुनुअघि कक्षा १० सम्मलाई माध्यमिक विद्यालय तहको शिक्षा र कक्षा ११ र १२ लाई उच्च माध्यमिक तहको शिक्षाको रूपमा परिभाषित गरिएको थियो । अब विद्यालय तहको अन्तिम खुड्किलोको रूपमा कक्षा १२ को परीक्षालाई मानिनेछ ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार यस वर्ष परीक्षामा सामान्य धारका पाँच लाख ३८ हजार एक सय ८२ जना विद्यार्थीले परीक्षा फाराम भरेका छन् । प्राविधिक धारका तीन हजार सात सय तीन जना सहभागी हुनेछन् ।

सामान्य धारको परीक्षा चैत ११ गतेसम्म तथा प्राविधिक धारका विषयका परीक्षा चैत १४ गतेसम्म सञ्चालन हुनेछ । परीक्षाका लागि मुलुकभर एक हजार नौ सय २३ वटा केन्द्र निर्धारण गरिएको छ । गत वर्ष एक हजार नौ सय ४३ केन्द्र निर्धारण गरिएको थियो ।

यस पटक परीक्षा सञ्चालनका लागि एक हजार नौ सय २३ केन्द्राध्यक्ष, दुई हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार चार सय ६१ निरीक्षक, ११ हजार सात सय १६ जना सहयागी र २८ हजार आठ सय ४५ जना सुरक्षाकर्मी परिचालन हुनेछन् । परीक्षाको अनुगमन गर्न मन्त्रालयले सहसचिवको नेतृत्वमा १८ वटा अनुगमन समिति गठन गरेको छ । अन्नपुर्ण पोष्टमा समाचार छ ।